नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त विपद् प्रतिकार्य क्षमता अभिवृद्धि विभिन्न अभ्यास हुने भएको छ।
शुक्रबार नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास हुने जनाएको हो।
सेनाका अनुसार भदौ ३० गतेदेखि असोज ४ गतेसम्म अभिवृद्धि अभ्यास सुरू हुनेछ भने उक्त अभ्यासको नाम प्यासिफिक एन्जल रहेको छ।
'अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ,' विज्ञप्तिमा भनिएको छ, 'काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरू सञ्चालन हुने छन्।'
यस्तै, सन् २०१२ बाट नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त विपद् प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास हुँदै आएको बताइएको छ। यो चौथो संस्करण भएको नेपाली सेनाले बताएको छ।