मानवमुक्त सडक बनाउनका लागि मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा हुने भएको छ।
असोज १५ देखि कात्तिक २२ गते देशभर सडकमा भएका मानिसहरूलाई उद्धार गर्ने तयारी भइरहेको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सडकमा बसोबास गर्ने मानिसहरूलाई उद्धार गर्ने तयारी भइरहेको मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले जानकारी दिएका हुन्।
उनका अनुसार असोज १५ गते प्रधानमन्त्री कार्यालयबाट शुभकामना लिएर १७ गते घटनास्थापनाको दिन मेलीपुलबाट उद्धार कार्यक्रम सुरूआत हुन्छ।
यस उद्धारका लागि आश्रमका सहयोगीसहित ४५ जनाको सहभागिता रहनेछ। सडकमा भेटिएका र स्थानीय तहले जानकारी गराएका व्यक्तिहरूलाई सडकबाटै उद्धार गरिने संस्थापक अधिकारीले जानकारी दिए।
‘हामी जहाँ जान्छौं, त्यहाँका स्थानीयले जानकारी दिएको आधारमा पनि फुटपाथमा बसेका वा नदी किनारामा बसेका बेवारिसेहरूलाई उद्धार गर्छौं,’ उनले भने, ‘यसमा कुनै पनि उमेरहद हुँदैन सडकमा बस्ने जुनसुकै उमेर समूहका मानिसहरू पर्न सक्छन्।’
यो अभियान आश्रमले २०७८ सालदेखि सुरूआत गरेको हो। उक्त वर्ष ७ सयभन्दा बढी बेवारिसेहरूलाई आश्रमले उद्धार गरेको थियो।
त्यस्तै २०७९ मा तीन सय र २०८० मा ३१० र यस वर्ष पनि सोही हाराहारीमा उद्धार हुने अनुमान गरिएको छ। उद्धार गरिएकाहरूलाई नजिकैको वा गृह जिल्लाका आश्रमहरूमा राखिने उनले जानकारी दिए।
मेची महाकाली अभियानमा प्रत्यक्ष रूपमा आनी छोइङ डोल्मा फाउन्डेसनको अध्यक्ष आनी छोइङ डोल्माले आर्थिक सहयोग गर्दै आएकी छन्।
यसअघिका उद्धार यात्रामा उनीआफै पनि हिँडेकी थिइन्। आगामी यात्रमा पनि आर्थिक पाटो उनलै सम्हाल्ने सोही कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेकी छन्।
साथसाथै उनी आफै पनि सरिक हुने उनले कार्यक्रममा बताएकी छन्।
२०६९ भदौ १३ गते ५ जना बेवारिसेहरूलाई उद्धार गरेर सञ्चालन गरेको आश्रममा अहिले २५० जनाले आश्रय पाइरहेका छन् भने देशभर १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा ल्याइएको छ।
यसको मुख्य कार्यालय हेटौंडा हो। देशैभर १ हजार ७१८ जना छन्। आश्रमले हालसम्म १० हजार २९१ जनालाई उद्धार गरेको संस्थापक अधिकारीले बताए।
‘४ हजार ७१ जनालाई परिवारसँग पुनर्मिलन गराएका छौं,’ उनले भने, ‘परिवारसँग मेलमिलाप गराइएकाहरूको आश्रमले अवलोकन गरिरहेको हुन्छ।’
२०८२ सम्म सडक मानवमुक्त बनाउने योजना छ। उक्त संकल्प पूरा गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
अहिलेसम्म प्रदेशमा कर्णाली र गण्डकी, जिल्लामा मकवानपुर, बाजुरा, झापाले सडक मानवमुक्त भएको घोषण गरेका छन् भने महानगरपालिकामा वीरगञ्ज, विराटनगर, भरतपुर छन्।
उपमहानगरपालिकामा हेटौंडा, बुटवल र नगरपालिकामा गोरखाले सडक मानवमुक्त बनाएको छ। काठमाडौं महानगरपालिका सडकमुक्त बनाउनका लागि अभियान चलाइरहेको संस्थापक अधिकारीले जानकारी दिए।