त्रिशूली किनारमा ट्रक दुर्घटनाग्रस्त अवस्थामा भेटिएको घटना शंकास्पद देखिएको छ।
आइतबार बिहान भैरहवाबाट काठमाडौं जाँदै गरेको ट्रक नारायणघाट-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ को २५ किलोस्थित नदी किनारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
ना ६ ख ६२८३ नम्बरको ट्रकमा २२२५ वटा कार्टुन सनफ्लावर तेल बोकेको बिल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका डिएसपी भेषराज रिजालले आइतबार बिहान खबर भएपछि घटनास्थलमा पुगेका थिए।
उनका अनुसार ट्रकबाट लोड गरिएको तेलको बिलमा चालकको नम्बर र पुर्याउनुपर्ने ठाउँसमेतको नम्बर भेटिएको छ।
‘बिलमा ट्रक चालक र पुर्याउनुपर्ने ठाउँको नम्बर छ। हामीले चालकलाई सम्पर्क गर्यौं तर मोबाइल स्विच अफ गरिएको छ,’ उनले भने, ‘सामान ललितपुरमा पुर्याउन लोड गरिएको देखियो।’
उनका अनुसार तेल भदौ २८ गते (शुक्रबार) भैरहवामा लोड भएको थियो। तर आइतबार दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा ट्रक भित्र आधा तेल गायब भएको डिएसपी रिजालले बताए।
‘२२२५ कार्टुन तेल भएकोमा आधा हाराहारीमा तेलका कार्टुन गायब छन्,’ उनले भने।
यस्तै प्रहरीका अनुसार ट्रक शनिबार राति नै नदी किनारामा खसालेको हुनसक्छ। घटनास्थलमा ट्रक जानी जानी खसालेको जस्तो देखिएको डिएसपी रिजालले बताए।
‘घटनाबारे शंका गर्ने आधार प्रशस्त देखिएका छन्। दुर्घटना हुँदा जस्तो देखिनुपर्ने घटनास्थल छैन। ट्रक नदी किनारमा भेटिएको छ। घिसारेर खसेको जस्तो देखिन्छ,’ उनले भने, ‘गएराति नै खसाएको भन्ने कुराहरू पनि आएका छन्। तर बिहान कारमा हिँडेका व्यक्तिहरूले देखेपछि हामीलाई खबर गरिएको छ। वास्तविकता के हो भन्ने यकिन गर्न बाँकी नै छ।’
प्रहरीले यातायात व्यवस्था विभागसँग समन्वय गरी ट्रक धनीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ। ट्रक चालक यकिन भएसँगै घटनाबारे थप खुल्ने उनले बताए।