सहकारीमा जम्मा भएको सर्वसाधारणको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन्।
झन्ड दुई वर्षदेखि फरार रहेका उनी गएको बुधबार पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कर्णविरूद्ध ५० जना भन्दा बढीले बचत रकम दिलाइदिन र ठगी गर्नेलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसकेका छन्। सहकारीका २६ जनाविरूद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
अरु आरोपी नभागुन् भनेर कर्ण पक्राउ परेको विषयमा प्रहरीले सूचना गोप्य राखेको छ। एक जना पक्राउ गरिएको र अरू आरोपी पनि पक्राउ गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको मोरङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए।
पक्राउ परेपछि उनी अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचापका कारण कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ।
सहकारीमा सर्वसाधारणले गरेको बचतको रकमले निजी सम्पत्ती जोडेका कर्णले श्रीमतीका नाममा राखेको जमिन सुरक्षित राख्न सम्बन्ध बिच्छेद गरेको निकटहरूले बताउँदै आएका छन्। तर, प्रहरीले यसबारे केही बताएको छैन।
कर्ण २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वन्तन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन्। सहकारीको अध्यक्ष रहेर मासिक रुपमा तलव लिने गरेका कर्णसहित सहकारीका सञ्चालक र कर्मचारीविरूद्ध प्रहरीमा जाहेरी छ।