नेपाल युथ समिट ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।
काठमाडौंमा भदौ २८ र २९ गते वृहत छलफलसहित सम्मेलन भएको थियो।
सम्मेलनका संयोजक भूपेन्द्रजंग शाहीले सम्मेलनमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरू सहभागी रहेको बताए। सम्मेलनमा देशभरिबाट करिब पाँच सय जना सहभागी रहेका थिए।
नेपाल युथ समिट विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो उर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेकालाई एउटै मञ्चमा ल्याएर देश निमार्णको एउटा साझा सङ्कल्प गर्ने उदेश्यले आयोजना गरिएको शाहीले बताए।
‘एक क्षेत्रका ज्ञान र सीप अर्को क्षेत्रलाई जानकारी गराउन पनि यो कार्यक्रम फलदायी रह्यो,’ उनले भने, ‘युवाहरू एकै ठाउँमा बसेर एकअर्काका अवधारणा आपसमा बाँड्ने काम भयो र साझा सङ्कल्प पनि गर्न समिट फलदायी भयो।’
आयोजक राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मलकुमार उप्रेतीका अनुसार निराशा चिर्न यो कार्यक्रम फलदायी बनेको छ। ‘देशभित्र केही राम्रो काम गर्न सकिन्छ। नेपालमै पनि प्रचुर सम्भावना छन् भन्ने देखियो,’ उनले भने, ‘समस्या भनेको अवसर पनि हो, कुनै समस्याले केही अवसर जन्माउन पनि सक्छ। त्यसैले युवाहरू देशभित्रै अवसर खोजौं।’
यो समिटको उद्घाटन उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामा, रिता शाहीलगायत सहभागी रहेका थिए।
समिटमा उद्यमी विदुषी राणा, खेलाडी पलेशा गोवर्धन, व्यवसायी भरत ढकाल, बैंकर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद उपाध्यक्ष सुरेन्द्र बस्नेत, पत्रकार दिलभुषण पाठक, नेपाल चिकित्सक सङ्घ केन्द्रीय अध्यक्ष डा. अनिल कार्की, नेपाल शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, अभिनेता सनम कठायत, अभिनेत्री उषा रजक, गायिका राधिका हमाललगायत सहभागी रहेका थिए।
यस्तो छ ७ बुँदे घोषणा पत्र;
१. युवा उद्यमशीलता, रोजगारी र स्वदेशी उत्पादनको उपभोग;
स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा देशभित्रै रोजागार गर्ने सक्ने वातावरण निर्माण गर्ने, युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्ने, स्वदेशी उत्पादनका उपभोगलाई प्राथमिकता र सोको लागि समय सापेक्षित नीति, नियम, योजना र बजेटको व्यवस्था हुनुपर्ने।
२. युवा सशक्तिकरण र नेतृत्वः
युवाहरूलाई राजनीतिक, सामाजिक, र आर्थिक नेतृत्वमा पहुँच दिन राज्यका सबै तहमा समानुपतिक र अर्थपूर्ण सहभागी गराउने र उनीहरूको क्षमताको विकास गर्ने कार्यक्रम लागू गर्नुपर्ने।
३. शिक्षा, प्रविधि र नवप्रवर्तनः
सीप र बजारोन्मुख शिक्षा, डिजिटल शिक्षामा पहुँच, नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिमा युवाहरूको पहुँचलाई सुनिश्चित गरी डिजिटल साक्षरता र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने।
४. सामाजिक न्याय, लैङ्गिक समानता र सीमान्तकृत समुदायको समावेशिताः
सामाजिक न्याय, लैङ्गिक समानता, अल्पसंख्यक, पछाडि पारिएका तथा सीमान्तकृत समुदायको मानव अधिकारको प्रवर्द्धन गर्दै सबै प्रकारका विभेद, हिंसा, र अन्यायको अन्त्य गर्ने।
५. युवाहरुको भूमिकाको पहिचान, सम्मान र अवसर:
युवा भनेका भविष्यका कर्णधार मात्र हैन वर्तमान हुन र उनीहरुको भूमिका, योगदान र राष्ट्र निर्माणमा मेरुदण्डको आवश्यकतालाई अहिलेनै पहिचान गरी बढी भन्दा बढी अवसर प्रदान गर्नुपर्ने।
६. पर्यावरण संरक्षण र दिगो विकासः
वातावरणीय संरक्षण र दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्दै हरित ऊर्जा, जलवायु परिवर्तन, र वातावरणीय न्यायको प्रवर्द्धनमा जोड दिनुपर्ने।
७. सहकार्य, समन्वय र सहयोगः
विविध क्षेत्रमा आवद्ध, कृयाशिल र विचारका युवाहरुबीच सहकार्य, समन्वय र सहयोगका भावनालाई बढाउने विविध कार्यक्रमहरुलाई स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सञ्चालन गर्ने र राष्ट्र निर्माणको साझा संकल्प पुरा गर्न लागिपर्ने।