काठमाडौंको नयाँ बानेश्वरस्थित सडकबाट धोबिखोलामा खसेको ट्याक्सी निकाल्न गएको क्रेन नै फसेको छ।
ललितपुरको युएनपार्क नजिकै बागमती नदीमा सोमबार बिहान ट्याक्सी भेटियो। तर त्यसलाई अहिलेसम्म निकाल्न सकिएको छैन। निकाल्ने प्रयास अझै जारी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
‘अहिले निकाल्ने प्रयास भइरहेको छ। डोरीले तानेर निकाल्ने प्रयास गरिएको हो। क्रेन पनि बोलाइएको थियो। तर क्रेन आफै फसेको भन्ने छ,’ उनले भने।
आइतबार बेलुकी सवा ८ बजेतिर नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडिबाट अनियन्त्रित भएर ट्याक्सी धोबिखोलामा खसेको थियो।
ट्याक्सी खसेको केही पर लगेपछि चालक ट्याक्सीबाट बाहिर निस्किए। चालक उर्गेन लामाको भाटभटेनी नजिकैबाट उद्धार गरिएको थियो। तर गएराति परेको वर्षाले पानीको बहाव बढायो।
खोलैखोल हुँदै उक्त ट्याक्सी थापाथली-बानेश्वर जोड्ने पुलमुनि भेटिएको थियो। त्यहाँ ट्याक्सी देखिएपछि प्रहरीले निकाल्ने प्रयास गर्यो।
तर केहीबेरमा ट्याक्सी त्यहाँबाट पनि बगाएर लगेको हो। त्यहाँबाट पनि बगाएपछि प्रहरीहरू पनि फर्किएका थिए।
सोमबार बिहान साढे ७ बजेतिर सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद उद्धार गणबाट सशस्त्र प्रहरी निरीक्षक समिप श्रेष्ठको कमाण्डमा खटिएको ११ जनाको टोलीले ट्याक्सी फेला पारेको थियो। दुई जना गोताखोर समेत खटिएका थिए।
तर अहिले सम्म पनि ट्याक्सी निकाल्न नसकिएको हो। अहिले प्रहरी र सशस्त्र प्रहरीको टोलीले ट्याक्सीमा डोरीले बाँधेर तान्ने प्रयास गरिरहेको हो। तर बहावका कारण निकाल्न सकिएको छैन। नदीमा पसेको क्रेन पनि त्यही फसेको छ।
तस्बिरहरू: