काठमाडौंको विष्णुमती खोलामा खसेका एक जना पुरूष अझै फेला परेका छैनन्।
आइतबार राति साढे ७ बजे लमजुङ घर भई काठमाडौंको टोखा नगरपालिका-८ स्थित डेरामा बस्ने ४२ वर्षीय रामचन्द्र खड्का विष्णुमती खोलामा खसेका थिए।
तर उनी सोमबार साँझसम्म पनि फेला नपरेका हुन्।
खड्का खोलामा खसेपछि स्थानीय प्रहरीसँगै सामाखुसीमा रहेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको टोली पनि खटिएको थियो।
प्रहरी निरीक्षक चन्द्रबहादुर थापा र प्रहरी निरीक्षक डबलबहादुर बमको कमाण्डमा ५० जनाको टोलीले खोजी गरेको कार्यालयका सूचना अधिकारी एसपी हेरम्ब शर्माले जानकारी दिए।
टोली विपद उद्धारको आवश्यक उद्धार सामग्रीसहित खटिएको थियो।
एसपी शर्माका अनुसार ती पुरूषलाई विष्णुमती खोलादेखि चोभारस्थित जलविनायकसम्म खोजी गरेको थियो।
सोमबार बिहान ७ बजेदेखि दिउँसो सवा ३ बजेसम्म पनि खोजी गर्दा नभेटिएपछि प्रहरीको टोली फर्किएको छ।
आइतबार राति परेको पानीले बिष्णुमतीमा बहाव र पानी बढेको थियो। छोरासँग हिँडिरहेका खड्का एक्कासि लडेपछि खोलामा खसेका थिए।
खोलामा बेपत्ता भएका उनको खोजीका लागि प्रहरीको टोली चोभारसम्म पुग्दा पनि नभेटिएको हो। अहिले विष्णुमतीको बहाव पनि घटिसकेको प्रहरीले जनाएको छ।