सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार प्रतिनिधि सभामा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन निर्देशन दिए।
सूर्य थापा सभापति रहेको समितिको प्रतिवेदन सरकारको हातमा पुगिसकेको छैन।
सभामुखले सचिवालयलाई दिएको निर्देशनपछि प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयले लेखेर पठाउने तयारी गरेको संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए।
‘समितिले प्रतिवेदन बुझाइसकेपछि हिजै सभामुखज्यूले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई लेखेर पठाउन सचिवालयलाई निर्देश गर्दछु भन्नु भएको थियो। त्यसअनुसार नै सचिवालयले सरकारलाई लेखेर पठाउने हो,’ उनले भने, ‘यसमा विभिन्न पक्षहरू जोडिएका होलन्, हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लेखेर पठाउँछौं।’
यो पत्र भने बुधबार मात्रै पठाइने पनि उनले बताए।
‘हिजो निर्देश भएकाले आज पठाउनुपर्ने हो। तर आज सार्वजनिक बिदा भएकाले अब भोलि पठाउँछौं। सरकारले प्रतिवेदन ग्रहण गरिसकेपछि बाँकी निर्णय तथा कार्यान्वयनको पक्ष सरकारकै हुन्छ,’ उनले भने।
उनकाअनुसार यो प्रतिवेदन सरकारले ग्रहण गरेपछि सरकारले मन्त्रिपरिषद बैठकमा लैजानेछ। मन्त्रिपरिषद बैठकले कार्यान्वयन गर्ने निर्णय गरिसकेपछि मात्रै मातहत मन्त्रालयमा जानेछ।
प्रतिवेदनमा सहकारी ठगी, रकम अपचलन, कीर्ते जस्ता अपराधबारे औंल्याएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीका अनुसार मन्त्रिपरिषदले निर्णय गरी पठाएपछि मात्रै थप प्रक्रिया अघि बढ्नेछ।
‘नेपाल सरकारले निर्णय गरिसकेपछि मात्रै गृहमा आउला। गृहमा आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘जे-जे मन्त्रिपरिषदले हेरेर मात्रै पठाउँछ।’
त्यसपछि मात्रै कार्यान्वयनका लागि मन्त्रालयले नेपाल प्रहरीलाई पठाउन सक्नेछ।
नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि गत जेठ १५ गते नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा समिति गठन गरिएको थियो।
उक्त समितिले तीन महिनाभन्दा बढी समय अध्ययन तथा अनुसन्धान गरेर प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको हो।
यो पनि:
संसदीय छानबिन समितिले रवि लामिछानेलाई जिम्मेवार ठहर गर्दा उल्लेख गरेका तीन विषय
समस्याग्रस्त सहकारीका संस्थागत र सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर्न संसदीय समितिको सिफारिस
गोर्खा मिडियामा आएको सहकारीको ६५* करोडमा रवि लामिछानेको जिम्मेवारी रहने छानबिन समितिको ठहर
गोर्खा मिडिया नेटवर्कको सेयर बिक्री किर्ते कागजका आधारमा गरिएको छानबिन समितिको निष्कर्ष