त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले त्रिविमा नीतिगत सुधार नभई देशको सुधार हुन नसक्ने बताएका छन्।
पद्यकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सवमा मंगलबार भएको कार्यक्रममा बोल्दै उपकुलपति बरालले सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको बताए।
‘बजेट अभावले नयाँ कार्यक्रम अगाडि बढाउन गाह्रो भइरहेको छ। सरकारले शिक्षामा लगानी गर्न नसक्ने हो भने सक्ने विद्यार्थीबाट शुल्क उठाउने र नसक्नेलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ,’ उनले भने।
उपकुलपति बरालले लामो समय सेवा गरेका प्राध्यापकहरू सेवाबाट अवकाश हुँदै जाने अनि सेवा आयोगबाट नयाँ नियुक्ति नहुँदा कतिपय क्याम्पस रित्तिने अवस्थामा पुगेको पनि बताए।
‘सेवा आयोगमा राजनीतिक भागबण्डा नमिल्दा नियुक्ति प्रकृयामा ढिलाइ भएको छ। आंशिक शिक्षकको समस्या समाधानका लागि एक मात्र विकल्प भनेको सेवा आयोगले विज्ञापन खुलाउने नै हो,’ उनले भने, ‘छिट्टै सात सय नयाँ शिक्षकको विज्ञापन होला।’
उनले पद्मकन्या क्याम्पसको फरक पहिचान र महत्व भएको पनि बताए।
कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राज्ञिक स्वायत्तताका लागि क्याम्पसलाई २०८१ चैतभित्र क्वालिटी असुरेन्स एण्ड एक्रेडिएसन (क्यूएए) मा लैजाने जानकारी दिएकी थिइन्।
पद्मकन्याबाट उत्पादित जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि शैक्षिक गुणस्तरमा ध्यान दिइएको पनि उनले बताइन्।