संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना हुँदैछ।
अपराह्न ४ बजेदेखि सुरू हुने कार्यक्रमका लागि विभिन्न ठाउँमा ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ।
यस्तै १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रमस्थलतर्फ जाने सवारीसाधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिने भएको छ।
पहिलो चरणमा लैनचौरबाट केशरमहलतर्फ, नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ, कृष्ण पाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ, भोटाहिटीबाट जमलतर्फ र ठमेल संचय कोषबाट केशरमहलतर्फ डाइभर्सन गरिने कार्यालयले जनाएको छ।
त्यस्तै दोस्रो चरणमा बालाजुबाट सोह्रखुट्टे हुँदै लैनचौरतर्फ, सामाखुशीबाट लैनचौरतर्फ, नारायणगोपाल चोकबाट खानीविभागतर्फ, सुकेधाराबाट विशालनगरतर्फ, गौशालाबाट रातोपुलतर्फ, माइतीघरबाट सिंहदरबार, भद्रकालीतर्फ, भद्रकालीबाट नागस्थानतर्फ र त्रिपुरेश्वरबाट नागस्थानतर्फ डाइभर्सन गर्ने जनाएको छ।
कार्यक्रमस्थलमा जानेहरूका लागि भने विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ।
कार्यालयले १४ वटा स्थानमा पार्किङ गर्न सक्ने जनाएको छ।
नेशनल डे कन्सर्टमा अपराह्न ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू राखिँदैछ। ५ बजेदेखि भने कन्सर्ट सुरू हुँदैछ।
विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जनाकारी दिए।
त्यसैगरी, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरू आउँदैछन्।
कन्सर्टमा गायकहरूले एउटा प्रस्तुति दिनेछन्।
यसरी सुरू हुने कार्यक्रम साढे ७ बजेसम्म हुने बोर्डका अध्यक्ष डिसीले बताए।
त्यसैगरी साढे ७ बजेदेखि भने अतिशबाजी गरिने र कार्यक्रम समापन गरिने उनले बताए।