लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल एक लाख ८० हजार ४३०० सहित ६ जनालाई पक्राउ गरेको छ।
ब्युरोले अपरेसन अल्ट्रास सञ्चालन गरी ६ जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।
हालै सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिहरूको एकल वा समिश्रण भई बनेका औषधिहरूलाई मनोद्विपक पदार्थको रूपमा तोक्ने निर्णय गरेको थियो। यो औषधि अस्पतालको फार्मेसीमा चिकित्सकको रायपछि मात्रै दिनुपर्ने व्यवस्था छ।
तर दुई वा छुट्टाछुट्टै समूहले गोदाममा राखेर ट्रामाडोल बेच्दै आएको पाइएपछि प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
ब्युरोले उदयपुर घर भई काठमाडौंको माकलवारी बस्ने ३० वर्षीय श्रीबहादुर राईलाई बागमती करिडोर सडकबाट भदौ १८ गते पक्राउ गरेको थियो।
९०० वटा ट्रामाडोलको क्याप्सुलसहित पक्राउ गरेपछि प्रहरी उनको डेरामा पुगेको थियो। त्यहाँबाट ३३ हजार ६०० वटा क्याप्सुल बरामद गरेको थियो। उनीमाथि सोधपुछ गरी प्रहरीले सर्लाही घर भई कागेश्वरी मनोहरा-६ बाबाचोक बस्ने २२ वर्षीय विपिनकुमार महतोलाई पक्राउ गरेको हो। उनीबाट ५३ हजार ९०० वटा क्याप्सुल बरामद गरेको हो।
त्यस्तै विशेष सुराककै आधारमा भदौ ३१ गते प्रहरीले अर्को समूहका पर्वत घर भई मित्रनगर बस्ने २७ वर्षीय बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट ९००० क्याप्सुलसहित पक्राउ गरेको हो।
उनले सम्झना रोक्काबाट खरिद गरी बिक्री गर्ने खुलेपछि झापा घर भई गोंगबु बस्ने उनलाई घरबाटै पक्राउ गरिएको थियो।
उनको घरबाट प्रहरीले ८३ हजार र दुई लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ। उनले बाराका एक जना युवकबाट उक्त ट्रामाडोल लिने गरेको खुलेपछि प्रहरीले ती व्यक्तिलाई पनि खोजी गरिरहेको छ। उनी हाल फरार छन्।
अर्का बाराकै ३४ वर्षीय प्रदिप सर्राफलाई टोखाबाट पक्राउ गरिएको थियो। उनका सहयोगीलाई पनि डल्लुका ५१ वर्षीय मोहन श्रेष्ठलाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
सर्राफले मनोद्विपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि काठमाडौंमा बिक्री गर्दै आएको खुलेको छ।