अन्य देशमा पनि जटिल मानिने र कम हुने कुहिनाको प्रत्यारोपण नेपालमा राजधानी बाहिर पनि सम्भव हुनुलाई मेडिकल क्षेत्रको ठूलो सफलता मानेका छौं। नेपालमा हाडजोर्नी र नसा रोगको उपचारमा यसलाई एक नवीन प्रविधिको सुरूआत भएको मान्न सकिन्छ।
१३ वर्षअघि स्थापना भएको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा मासिक १५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपटक तथा मेरूदण्डको शल्यक्रिया, घुँडा र कट्टीको जोर्नीको प्रत्यारोपण, दुरबिनबाट हुने घुँडा र कुमको शल्यक्रिया लगायतका जटिल शल्यक्रियाहरू हुने गरेका छन्।
हामीले पहिलो पटक कुहिनाको जोर्नीको प्रत्यारोपण गरेका छौं। केही महिनाअघि काठमाडौंको बिएण्डबी अस्पतालले देशमै पहिलो पटक कुहिनाको जोर्नीको प्रत्यारोपण गरेको थियो। काठमाडौं बाहिरका अस्पतालमा यसअघि कुहिनाको जोर्नीको प्रत्यारोपण गरिएको थिएन।
हामीले करिब ६ वर्षअघिदेखि कट्टी र घुँडाको जोर्नीको प्रत्यारोपण गर्दै आएका थियौं। यो अवधिमा करिब एक सय जनाको कट्टी र घुँडाको जोर्नीको प्रत्यारोपण गरियो। कुहिनाको जोर्नीको प्रत्यारोपण भने जटिल र खर्चिलो हुने भएकाले नेपालमा कम हुने गरेको थियो। सबै उपचार यहीँ सम्भव बनाउनुपर्छ भनेर लाग्दै जाँदा कुहिनाको जोर्नीको प्रत्यारोपणमा पनि सफल भयौं।
जटिल खालको बाथ, कुहिनाको चोटले हड्डी झर्यामझुरुम भाँचिएको अवस्थामा वा अन्य विभिन्न कारणले अपरेसन गर्दा पनि राम्रो काम गर्न सकेन भने कुहिनाको कुरकुरे हड्डी घोटिएर बिरामीलाई दुखाइले सताउने, कुहिनाको चाल असाध्यै घट्ने हुनसक्छ।
हामीले बिग्रिएको जोर्नीलाई प्लास्टिक वा मेटलको कृत्रिम जोर्नीले प्रतिस्थापन गर्ने हो। यसरी गरेको प्रत्यारोपणले सामान्यतया २०/२५ वर्षलाई काम गर्छ। हातलाई धेरै दुःख दिइएन भने अझै बढी पनि गर्न सक्छ।
कट्टी र घुँडामा हासिल गरेको लामो अनुभवले पनि हामीलाई नयाँ सेवा सुरू गर्नमा सहयोग गरेको हो। सुरूमा कुहिनाको जोर्नी प्रत्यारोपणमा भारतबाट एक जना प्राविधिकको पनि सहयोग लिइएको थियो।
कुहिनाको जोर्नीको प्रत्यारोपण गरेपछि हात पूर्णरूपमा चलाउन सकिन्छ। हड्डीको टिबीले वर्षौंदेखि हात खुम्चिरहँदा जोर्नीको हड्डी जकडिएको र टालिने समस्या हुन्छ। कुरकुरे हड्डी सबै खिइएर हड्डीहरू एक आपसमा टाँसिन्छ। यो उपचार असाध्यै चुनौतीपूर्ण पनि छ। लामो समयदेखि जाम भएको हड्डीलाई पुरानै अवस्थामा ल्याउनेगरी अपरेसन गर्न निकै समय लाग्छ।
प्रत्यारोपणपछि भने बिरामीले दुखाइबाट मुक्ति पाउने र हातले गर्न मिल्ने सबैजसो काम गर्न सक्ने हुन्छ।
यो उपचारका लागि करिब ५ लाख रुपैयाँ खर्च लाग्छ। घुँडा र कट्टीको जोर्नीको प्रत्यारोपणका लागि साढे ४ लाख रुपैयाँ खर्च हुन्छ।
(हेर्नुस् एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका डा. लामिछानेसँग सेतोपाटीले गरेको कुराकानी)