अविरल वर्षाका कारण आएको बाढीले कठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट संचालनमा आउने भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षासँगैको बाढीले क्षति पुर्याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गरी पुन:स्थापना गरी खानेपानी आपूर्ति संचालन गर्न निर्देशन दिएका थिए।
सोमबार सम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए।
‘सोमबार सम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं। भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानीमात्रै वितरण गर्न सकिने छ,’ उनले भने।
यसैगरी ललितपुरको स्रोतमा फर्पिङ जलविद्युत गृहबाट फर्पिङ पम्पिङ स्टेशनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानीको आपूर्ति असहजता भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।
उता काठमाडौंको महाँकाल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले त्यसको मर्मत सम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए।
विद्युतीय उपकरणमा समस्या आएका कारणपूर्ववत रुप्मा नियमित पानी आपूर्तिमा असहजता रहेको जनाएको छ। काठमाडौंमा पानी आपूर्ति सहजताका मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरू अहिले लागि परेका छन्।