लुम्बिनी प्रदेशलाई पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ।
५९ महिनासम्मका सबै बालबालिकाहरूले राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन्।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० जना शून्य डाेजका र दुई हजार तीन सय ४३ जना खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजी गरेर पूर्ण खाेप लगाएपछि प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएको हो।
लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खाेप पाएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बालबालिकाहरूमा विभिन्न सरूवा राेगविरूद्ध खाेप लगाइँदै आएकाे छ।
क्षयरोग, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमाेफिलस इन्फ्लुएञ्जा बी, पाेलियाे, दादुरा, रूबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, टाइफाइड, राेटा भाइरसबाट हुने झाडापखाला विरूद्धको खाेप पनि उपलब्ध गराउँदै आइएकाे हाे।
नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाकाे भागेश्वर गाउँविकास समितिबाट पूर्णखाेप घाेषणाको सुरूआत गरिएको थियाे।