नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपदमा परेका ७१३ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाले सोमबार बेलुकीसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाडौंबाट ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्दार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
'बिपी राजमार्ग अवरूद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनालाई त्यहाँबाट उद्दार गरी सुरक्षित स्थानमा सारेर घाइतेहरूलाई अस्पतालसम्म पुर्याइएको छ,' तिवारीले भने, 'नीजि हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ।'
गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित भएको उनले बताए।
'हवाइ उद्धारको कार्य अन्तिम-अन्तिम चरणमा पुगेको छ,' उनले भने, 'आवश्यकता अनुसार भोलिबाट पनि हवाइ उद्धार हुन्छ।'
सेनाको टोलीले उद्धारसँगै हवाइ साधनमार्फत राहत सामाग्री समेत प्रभावित क्षेत्रमा पुर्याउँदै आएको उनकव भनाइ छ।
गृह मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको काम समेत गरिरहेको छ।
विपद्का घटनामा सुरक्षाकर्मीहरूले मुलुकभर प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको उद्धार गरेका छन्।
सोमबार बेलुकीसम्म विपदमा परी २०९ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपदका कारण अवरूद्ध राजमार्गहरू तीव्र रूपमा सुचारू भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ।