काठमाडौंको ठमेल-सोह्रखुट्टे क्षेत्रबाट १५ बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि सकेर गैरकानुनी रूपमा बसिरहेका बंगलादेशी नागरिकलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उनीहरूलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो।
पक्राउ परेका १५ जनालाई नै प्रहरीले अध्यागमन विभाग कालिकास्थानमा पठाएको छ।
पक्राउ पर्नेमा मोख्लेस, अमिरूल इस्लाम रोबिन, मसुद सिकारी, मुसा ढाली, मोहम्मद मुशारोफ, सोजिब मियाह, मोहम्मद अल अमिन, मोहम्मद अन्वार हुसैन, सल्मान मियाह, सलेह अहमेद रिजुओन, मोहम्मद अबु सलेह, मोहम्मद नुर अलोम, मोहम्मद मोनिर हुसैन, मोहम्मद हाफिज उद्दिन र कमरूल हसन छन्।