काभ्रेको पनौती नगरपालिका-१२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ती अहिले खण्डहर बनेको छ।
त्यहाँका अधिकांश घरहरू बगरमा परिणत भएका छन् भने बाँकी घरहरू पनि बस्न नमिल्ने अवस्थामा छन्।
बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली त्यस खोला छेउमा रहेका घर, स्कुल, टिपर, डोजरसम्म बगाएर लगेको छ। अधिकांश स्थानीयहरूको उस्तै आवाज 'हामी जोगियौं, तर सबै गुमायौं अब कसरी उठ्ने हो थाहा छैन।'
विपद् गएको आज ६ दिन बितिसक्दासम्म पनि राज्यको संयन्त्र नपुगेको स्थानीयहरूको गुनासो छ। गत बिहीबारदेखिको परेको अविरल वर्षाका कारण शनिबार रोशी खोलामा आएको भिषण बाढीले पूरै गाउँ नै बगाएको छ।
रोशी खोलामा आएको बाढीले त्यो क्षेत्रदेखि पनौती बजारसम्म असर गरेको छ।
पनौती नगरपालिकाका अनुसार हालसम्म पनौती नगरपालिका क्षेत्रभित्र २० जना व्यक्तिहरूको मृत्यु भएको छ।
१ हजारभन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् भने कति सम्पत्ति क्षति भयो भन्ने आकडासम्म गर्न नसकिएको नगरपालिकाले उल्लेख गरेको छ।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी