ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि मुद्दा चलाउन सिफारिस भएको छ।
हनी ट्र्यापमा पारेर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
उक्त समितिले सोमबार परिसर प्रमुख एसएसपी शेखर खनालसमक्ष प्रतिवेदन पेश गरेको थियो। अहिले सो प्रतिवेदन कार्यालयमा बुझाएको हो।
समितिका अनुसार प्रहरी निरीक्षक शाहीले कार्यालयमै बोलाएर लेनदेन गराउनमा भूमिका खेलेपछि मुद्दा चलाउनुपर्ने आधार देखिएको हो।
बलात्कारको मुद्दामा फसाउने भन्दै प्रहरीको दुरूपयोग गरी लेनदेन भएको खुलेको हो। यस घटना बाहिरिएपछि प्रहरी निरीक्षक शाहीलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो।
परिसरले यस घटनामा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।