सुख्खा पहिरो गएपछि अवरूद्ध सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक सञ्चालनमा आएको छ। शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरूद्ध सडक शनिबार सञ्चालन भएको हो।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडकमा आवागमन सुरू भएको जानकारी दिए।
'हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,' उनले भने, 'ओखलढुंगाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सञ्चालन गरिएको हो।'
पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सञ्चालन गर्न समय लागेको उनले बताए।
'आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो। तर निरन्तर प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ,' उपरीक्षक बजगाईंले भने।
यो सडक खण्ड अवरूद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरूबाट पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो। सडक सञ्चालन भएपछि सवारी साधनहरू आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए।
सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरी लगायतले शुक्रबार रातिसम्म काम गरेका थिए। दसैं बेला यात्रुहरू रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ।