दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित शान्ति उद्यानमा बिहीबारदेखि शनिबारसम्म तीन दिने सर्प मोहत्सव भयो। महोसत्वमा देशभरका सर्प उद्धारकर्ताहरूको सहभागिता थियो।
महोत्सवमा दाङमा पाइने १५ प्रजातिका सर्पहरू स्टलमा राखेर प्रदर्शनी गरिएको थियो। जानकारहरूका अनुसार हालसम्म जिल्लामा ६ वटा जति विषालु सर्पहरू फेला परेका छन्।
करेत, कोब्रा (मोनोसेलेट र स्पेक्टिल कोब्रा) रसल भाइपर (बाघे सर्प), ब्यान्डेट करेत (गन्ग्वारी नाग, लक्ष्मी नाग), हरियो कानो र किङ कोब्रा पाइएका छन्।
नेपालीमा ‘बाघे सर्प’ भनिने रसल भाइपर पछिल्लो केही वर्षयता दाङमा पाउन थालिएको एउटा अत्यधिक विषालु प्रजातिको सर्प हो। जसले हमोटक्सिन विष फाल्ने गर्छ।
लोपोन्मुख प्रजातिको किङ कोब्रा दाङको घोराही र देउखुरी क्षेत्रमा फेला परेको छ। धामन, पानी सर्प, डेरी (बगाले सर्प), उर्फ स्नेक (चिडिन्डे सर्प), ड्रिङकेट ( सृङगारे सर्प), कुकरी, अजिंगर लगायतका सर्पहरू जिल्लामा पाइन्छन् ।
विषालु सर्पको जिउभन्दा टाउको ठूलो हुन्छ भने कम विषालु सर्पको टाउको सानो हुने सरोकारवालहरूले जानकारी दिएका थिए।
महोत्सवको स्टलहरूमा जिल्लामा पाइने सबै प्रकारका सर्पहरू राखिएका थिए। तीमध्ये कुन सर्प विषालु हो र कुन हैन? भन्ने कुराहरूको उल्लेख गरिएको थियो। जिल्लामा पहिलो पटक लगाइएको फरक प्रकृतिको सर्प महोत्सवमा सर्वसाधारणको उपस्थिति निकै उत्साहप्रद रह्यो। सर्प अवलोकन गर्न, सर्पको व्यवहार आनीबानी थाहा पाउन, सर्पको पहिचान गर्न भनेर धेरै संख्यामा स्कुल र कलेजका विद्यार्थी अवलोकनमा आएका देखिन्थे।
सर्पको संरक्षण किन आवश्यक छ? सर्प मार्दै गएमा वा सर्प नास भए मानव जीवनका साथै जैविक विविधतामा के कस्तो असर पर्न सक्छ? भन्ने जस्ता कुराहरू महोत्सवमा अवलोकनमा आउने विद्यार्थीदेखि सर्वसाधारणलाई देशभरबाट आएका उद्धारकर्ताहरूले अवगत गराएका थिए।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्कादेखि लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्की लगायतका जनप्रतिनिधिदेखि सर्पबारे अभिरूची राख्ने सरोकारवालाहरूदेखि आम सर्वसाधारणको महोत्सवमा आकर्षण देखिन्थ्यो।
तुलसीपुर–७ का स्थानीय तथा सर्प उद्धारमा सक्रिय प्रभात भण्डारीको अग्रसरतामा सर्पबारे समाजमा ज्ञान, चेताना अभिवृद्धि गर्ने उद्देश्यका साथ जिल्लामै पहिलो पटक आयोजना गरिएको सर्प महोत्वम देशका विभिन्न ठाउँबाट आएका केही सर्प उद्धारकर्ताहरूलाई हामीले सर्पको महत्व र संरक्षण किन जरूरी छ भन्नेबारे सोधेका थियौं।
उनीहरूमध्ये अधिकांशले सर्प किसानका लागि निकै सहयोगी भएको, सर्प नभएमा मुसा लगायत त्यस्तै साना जीवहरूको आतंक सुरू हुने तथा मानिसले खाने बालीनाली उनीहरूले सखाप पारिदिने हुँदा भोकमरी निम्तन सक्ने, सर्प बिना प्रकृतिको सन्तुलनमा खलल पुग्ने सक्ने जस्ता खतराहरू औंल्याएका छन्।
सर्प र मानवका बीचमा द्वन्द्व बढ्नुको कारण मानिसले जंगल नास गर्दै बस्ती विकास गर्नु, सर्प लगायत जीव जन्तुको बासस्थान सखाप हुनु, मानिसले आफ्नो वरिपरीको वातावरण सफा नराख्नु, झाडी जंगल राख्नु, सर्प सजिलै प्रवेश गर्ने खाले प्वाल तथा दुलोहरू घरमा राख्नु, भुइँमा सुत्दा झुल नलगाई सुत्नु जस्ता कारणले सर्पदंशका घटना बढेको बताएका थिए।
अधिकांशले सर्पले मानिसलाई मारेर खानका लागि कहिल्यै नटोक्ने बरू आफू असुरक्षित भएपछि उसलाई कुनै खाले असर पुगेपछि मात्रै डस्ने हुँदा प्रकृतिको एउटा सुन्दर बस्तु सर्पलाई दुश्मन नठान्न तथा देख्नासाथ नमार्न उनीहरूको आग्रह छ। पृथ्वी सबै जीवजन्तुका लागि साझा थलो भए पनि मान्छेले आफ्नो मात्रै थलो हो भन्ने सोच्नुले गर्दा पनि सर्प लगायत वन्यजन्तुसँगको द्वन्द्व बढेको उनीहरूको धारणा थियो।