निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको छ।
मंगलबार दिउँसो गृह मन्त्रालयको टोली र खानको समूहबीच वार्ता भएको हो। रूबी खानको मागलाई पुरा गरिदिने प्रतिबद्धता व्यक्त गरेसँगै प्रदर्शनसमेत रोक्ने तयारी भइरहेको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवानले जानकारी दिए।
'हामीले सरकारसँग वार्ता गरेका छौं। सहमति हुन बाँकी छ,' उनले भने, 'सहमति भए आजदेखि हामी प्रदर्शन रोक्छौं।'
रूबी खानको १३ जनाको टोली गत जेठ २५ गतेदेखि धर्नामा बसेका हुन्।
उनीहरूले सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका थिए।
निर्मला कुर्मी न्याय माग गर्दै उनीहरू प्रदर्शन गरिरहेका हुन्। कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ।