पशु ढुवानी गर्दा मापदण्ड पालना नगरेको आरोपमा ट्रकचालक पक्राउ परेका छन्।
बाराको निजगढ नगरपालिका-४ का २६ वर्षीय कमल धामी शुक्रबार बेलुका पक्राउ परेका हुन्।
उनले चलाएको ना ६ ख ३७०८ नम्बरको ट्रकमा चेकजाँच गर्दा मापदण्ड पालना नगरी पशु ढुवानी गरिएको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले ट्रक चेकजाँचका क्रममा जिल्लाको शिवराज नगरपालिका – ७ स्थित चन्द्रौटा – कृष्णनगर सडक खण्डको जवाभारी भन्ने स्थान उनलाई पक्राउ गरिएको हो।
ट्रक चेकजााँच गने क्रममा सो ट्रकमा २१ वटा गोरु बाँधेर राखेको, सबै गोरुहरुको पुच्छर ट्रकको छतमा डोरीले बाँधेर झुण्ड्याएको, नाक छेँडेर डोरी बाँधिएको, खट्टा बाँधेर पल्टाएको , त्रिपालले पुरै ट्रक ढाकेर स्वास–प्रश्वासमा अबरोध पुर्याएको अवस्थामा फेला पारेपछि ट्रक र चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिइएको डिएसपी अधिकारीले जानकारी दिए।
ट्रकमा मापदण्ड बिपरित ओसार पसार गरिएका २१ वटा गोरुलाई बाँधेका सबै डोरीहरु काटेर प्रहरीले जवाभारीको सार्वजनिक जंगलमा छोडेको अधिकारीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले धामीलाई सात दिन हिरासतमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० को (१) बमोजिम कारबाहीका लागि अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिए।