दाङको घोराहीमा दम्पत्तिमाथि एक समूहले दुर्व्यवहार गरी नाकमा चोट लागेको घटना बाहिरिएको छ।
घटनाको तीन दिन बित्दा पनि प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गरेको छैन।
मंसिर ६ गते बिहान ९ घोराही उपमहानगरपालिका-१५ बिपी चोकका ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधबा बस्नेतमाथि अज्ञात समूहले दुर्व्यवहार गरेका थिए।
बाटोमा हिँडिरहेको बेलामा नेपाल सञ्जीवनी इन्सिच्युट अफ हेल्थ साइन्स प्रालि कलेज गेटमा अपरिचित ६ जनाले उनीहरूलाई धारिलो हतियार देखाउँदै नियन्त्रणमा लिएका थिए।
बस्नेत दम्पत्तिलाई नियन्त्रणमा लिँदा कलेजका सुरक्षा गार्ड घोराही-१८ रझेनाका ५३ वर्षीय खुमबहादुर जिसीले सहयोग गर्न खोजे तर पेस्तोल देखाएपछि जिसी रोकिएका थिए।
उक्त समूहले बस्नेत दम्पत्तिको नाकमा हतियारले चोट बनाएका छन्। बिहानै उक्त घटना भए पनि यसबारे प्रहरीले पत्तो पाएन।
जबकि घटनास्थलको दुई-अढाई सय मिटर नजिकै जिल्ला ट्राफिक प्रहरी कार्यालय छ। एक किलोमिटरको दुरीमा जिल्ला प्रहरी कार्यालय छ।
बस्नेत दम्पत्तिमाथि दुर्व्यवहार गर्नेहरू हाल फरार छन्।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार घाइते दुवै जनालाई नजिकैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ।
उपचारपछि दुवै जना डिस्चार्ज भइसकेका छन्।
‘एउटा बेइज्जती गर्ने मनसाय पनि देखिन्छ र अर्को हतियार प्रयोग भएको फौजदारी कसुर पनि आकर्षित भएको छ,’ एसपी तिमिल्सिनाले भने,‘घाइतेको अवस्था सामान्य छ।’
प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि चार जनामाथि सोधपुछसमेत गरेको छ। तर उनीहरूको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।
पीडितले पनि यस घटनामा जाहेरी दिएको छैन।
घटना लगतै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले जिम्मा लिएको थियो।
पार्टीका जिल्ला सेक्रेटरी अमरले घटनाको जिम्मा लिँदै बस्नेत दम्पत्तिमाथि नामुद मिटर ब्याजीको आरोप लगाएका थिए।
सोही विज्ञप्तिको आधारमा बस्नेत दम्पत्तीलाई किटानी जाहेरी दिन प्रहरीले आग्रह गरेपनि उनीहरू हालसम्म तयार नभएको प्रहरी अधिकारीहरू बताउँछन्।
असोज २९ गते मात्रै नेकपा (बहुमत) का कार्यकर्ताले मिटरब्याजी र सुदखोर भन्दै घोराहीका अर्का एक व्यवसायीलाई पनि दुर्व्यवहार गरेका थिए।
एसपी अर्जुनप्रसाद तिमिल्सिनाले घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘म यतिखेर पनि प्रमुख जिल्ला अधिकारीज्यूसँग सोही विषयमा कुरा गरिरहेको छु,’ उनले भने, ‘कानुन हातमा लिने जो सुकै होस् छिट्टै पक्राउ पर्नेछन्।’
नेकपा बहुमतले दाङमा यसअघि पनि विभिन्न व्यक्तिहरूमाथि दुर्व्यवहार गर्दै आएको छ।
सम्बन्धित समाचार: दुर्गा पन्थमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एमाले दाङको माग
लुम्बिनीका मन्त्री कुर्मी र सांसद केसीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन