सोमबार जाजरकोटमा दुई वटा सवारी साधन दुर्घटना भएका छन्।
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी कुदु नजिक दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। उक्त गाडीमा २१ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
यस्तै, बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिकाको खनटाकुरामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
उक्त जिप ब्रेक फेल भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिपमा सवार बारेकोट गाउँपालिका–२ का धनकली रोकाया, निली सिंह र ऐन प्रसाद घर्ती घाइते छन्। उक्त जिपमा ७ जना सवार रहेको प्रहरीले जनाएको छ।
फोर्स गाडी दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत् सुर्खेत पठाउने तयारी गरिएको जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
यस्तै, जिप दुर्घटनाका घाइतेहरूलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।