बाँकेस्थित बैजनाथ गाउँपालिका–३ नौबस्तास्थित सुधार गृहका तीन जना बन्दी भागेका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार तीन जना बन्दी भागेको र खोजी कार्य जारी रहेको सेतोपाटीलाई बताए।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दाङ, प्युठान र बाँके घर भएका तीन जना आन्तरिक रूपमा लफडा गरी भागेको बताए।
भागेका तीनै जना झन्डै एक वर्ष पहिले डडुवा गाउँपालिकाको हिरमनियाँस्थित सुधार गृहबाट नौबस्ता ल्याइएकाहरू रहेको एसपी कार्कीले जानकारी दिए।
‘त्यहाँ लफडा र झगडा गर्नेहरूलाई नौबस्ता सारिएको थियो,’ उनले भने, ‘फेरि उनीहरूले त्यस्तै लफडा गरी यहाँबाट पनि भागेका रहेछन्।’
फरार भएका तीन जनाको नाम ठेगाना भने खुलाइएको छैन।
बालबिज्याईं मुद्दा अन्तर्गत सुधार गृहमा राखिए पनि उनीहरूको आजको उमेर भने २२ देखि २२ वर्षसम्मको रहेको छ।
उनीहरू जघन्य अपराध मुद्दाका दोषीहरू रहेको अधिकारीहरूले बताएका छन्।
सुधार गृहभित्रको नीति नियम कारागारको भन्दा भिन्दै हुन्छ। भित्र प्रहरी प्रवेश गर्न तथा उनीहरूमाथि बल प्रयोग गर्न पाइँदैन।
भागेका तीन जनाको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।