दाङमा दुर्घटना भएपछि पीडित परिवारले तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्।
मंगलबार बिहान ८ बजेदेखि घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा मृतकका आफन्तले चालकलाई कारबाही र राहत माग गर्दै सडक अवरूद्ध गरेका हुन्।
सोमबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको थियो।
मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर-१७ का २२ वर्षीय दिपक बस्नेतको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए।
उनका अनुसार घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
टिपर चालक घोराही-११ का ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन्।
'मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले सडक अवरूद्ध गरेका हुन्, सञ्चालनमा ल्याउन छलफल गरिरहेका छौं,' डिएसपी थापाले भने, 'सोमबार पनि सडक अवरूद्ध थियो।'