नेपाल जेसिजले ९ जनालाई जेसिज उत्कृष्ट युवा पुरस्कार दिएको छ।
पत्रकार गोविन्द मरासिनीसहित ९ युवा जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) उत्कृष्ट युवा पुरस्कार २०२४ बाट पुरस्कृत भएका हुन्।
मरासिनीलाई पत्रकारिता र स्वतन्त्र लेखनकार्यमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा पुरस्कार दिइएको हो।
नेपाल जेसिजले पुरस्कार छनोट समिति बनाएर विभिन्न शाखाबाट सिफारिस उत्कृष्ट युवाहरूलाई पुरस्कृत गरेको हो।
क्रिकेट खेलाडीद्वय करण केसी र रूविना क्षेत्री, साहित्यतर्फ कुमार सिंह, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील कविता नेपाल, कलाकारितातर्फ विजय बराल, आर्थिक क्षेत्रमा प्रगति गर्ने राहिव साहीवाला, विज्ञान प्रविधितर्फ कपिली खनाल र सङ्गीततर्फ सरोज श्रेष्ठ रहेका छन्।
जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीलगायतले प्रमाणपत्र, नगद पुरस्कार र मेडलसहित पुरस्कृत गरेका हुन्।