साइराम डेन्टल केयर र डाक्टर अजय डाक्टर सरू फाउन्डेसनले चितवनमा बालबालिकाको दाँतको सुरक्षाका लागि ‘सिल चितवन’ अभियान सुरू गरेका छन्। रोग लागेर उपचार गर्नुभन्दा समयमै रोकथाम गर्नुपर्छ भन्ने उद्देश्यका साथ निम्न माध्यामिक र मन्टेसरी अध्ययन गर्ने बालबालिकाको दाँतको परीक्षण र उपचार गर्नेगरी सिल चितवन अभियान सुरू गरिएको हो।
बालबालिकाको दाँतको बाहिरी पत्रमा टाँसिने एक प्रकारको पदार्थलाई सिल भनिन्छ। दन्त सिलेन्ट जसले दाँतलाई सिल गर्छ। दाँतमा सिल गर्नाले दाँत किराले खाने समस्या र मुखको दुखाइबाट बचाउँछ। लामो समयसम्म यसले दाँतलाई बलियो बनाउन मद्दत गर्छ।
वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अजय न्यौपानेका अनुसार अनुसन्धानले दाँतमा सिल गरिएको बालबालिकाहरूमा दाँत किराले खाने समस्या ६० प्रतिशतले कम भएको छ।
अहिले नेपालमा सरकारी र निजी विद्यालयमा पढ्ने २ देखि ६ वर्ष उमेरका बालबालिकामा दाँत किराले खाने समस्या व्यापक रहेको न्यौपाने बताउँछन्। ‘यस्तो हुनुको मुख्य कारण दैनिक दुईपटक फ्लोराइड युक्त पेस्टले दाँत सफा नगर्नु हो,’ डा. न्यौपानेले भने, ‘दाँतमा टाँसिने र गुलियो खानेकुरा बढी खानु, सबैको पहुँचमा दन्त उपचारात्मक सेवा उपलब्ध नहुनु, भएको खण्डमा पनि ६–६ महिनामा दन्त परीक्षण नगराउनुले बालबालिकाको दाँत किराले खान्छ।’
कम्बोडियामा बालबालिकालाई उनीहरू अध्ययनरत विद्यालयमै गएर डेन्टल सिलेन्ट लगाइदिँदा किराले खाने समस्या ६० प्रतिशतले घटेको तथ्यांक रहेको बरिष्ठ दन्त रोग विशेषज्ञ डा. सरू थापाले बताइन्।
दाँतमा समस्या आइसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन गरिने उपचार सस्तो र सरल भएको थापाले बताइन्। २–६ वर्षका बालबालिकालाई समयमै स्थायी पहिलो बंगारा र अस्थायी बंगारा डेन्टल सिलेन्ट लगाउन सकियो भने भविष्यमा दाँत किराले खाने, पीडा हुने, मुख सुन्निने समस्या नहुने उनले बताइन्।
‘यसको प्रयोगले भविष्यमा औषधिको प्रयोग गर्नै नपर्ने, उपचारात्मक उपचार गर्न नपर्ने, दाँत किराले खाएको बालबालिका लागि जुन खर्च र समय लाग्ने हो त्यो नलाग्ने भएकाले प्रभावकारी छ,’ डा. थापाले भनिन्, ‘दाँतको समस्या भएका बालबालिकाले राम्रोसँग पोसिलो खानेकुरा खान नसक्दा उनीहरूको मानसिक र शारीरिक विकासमा पनि प्रत्यक्ष र अप्रत्यक्ष समस्या भएको अनुसन्धानले देखाएको छ। त्यसैले सुरूकै अवस्थामा दन्त सिलेन्ट गर्न सकियो भने यस्ता समस्यालाई निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।’
सिल चितवन कार्यक्रमको सुरूवात भरतपुर–१२ मा रहेको किड्स वर्ल्ड मन्टेसरीबाट गरिएको थियो। कार्यक्रममा डा. अजय न्यौपाने, डा. सरू थापा, साइराम डेन्टलमा कार्यरत डा. रोबिन्स ढकाल, डा. चिरञ्जीवि पटेल, डा. सुशीला अर्याल लगायतले सेवा दिएका थिए।