त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थलका प्रहरीले सोमबार राति ड्रुक एयरलाइन्समार्फत् हङकङ जान लागेका चिनियाँ नागरिकलाई पक्राउ गरेको लागुऔषध ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
'उनको सुटकेशभित्र लागुऔषध जस्तो सेतो धुलो पदार्थ फेला परेको छ,' उनले भने, 'त्यो के हो भनेर अहिले नै भन्न सकिएको छैन। परीक्षण गरिरहेका छौं।'
मंगलबार बिहान नै उक्त वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। अहिलेसम्म रिपोर्ट आएको छैन। त्यसैले के हो भनेर भन्न नसक्ने एसपी कार्कीले जानकारी दिए।
ती चिनियाँ नागरिक हङकङबाट आएर पुन: त्यही फर्किन लागेको प्रहरीले बताएको छ। बाँकी अनुसन्धान भइरहेको उनले बताए।