काठमाडौंको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ।
आइतबार न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस मापन भएको थियो।
आइतबारको तुलनामा काठमाडौंको आकाशमा बादल केही कम भएका कारण तापक्रम पनि केही घटेको महाशाखाले जनाएको छ।
आइतबारदेखि अधिकतम तापक्रम पनि घट्न थालेको छ।
केही दिनअघि काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएकोमा आइतबार १८.४ डिग्री सेल्सियस मापन भएको थियो।
आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
काठमाडौंको दिउँसो आंशिक बदली रही घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद् शान्ति कँडेलले बताइन्।
'एक/दुई दिन यस्तै हुन्छ। पानी पर्ने सम्भावना चाहीँ छैन,' उनले भनिन्।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम?
एक साताअघि गत सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसपछि मंगलबार ४.४, मंगलबार ६ र बुधबार ६.६, बिहीबार ६.२, शुक्रबार ६.१ र शनिबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।