स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बूढानीलकण्ठ नगरपालिकास्थित कपनबाट राईलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी छ।
कुनै पनि प्रतिवादीलाई प्रहरीले पक्राउ गरेपछि २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था छ।
परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराका अनुसार संगठित अपराध एवं सहकारी ठगीमा पुरक अनुसन्धानका लागि म्याद मागिनेछ।
‘आज हामी उहाँलाई अदालतमा उपस्थित गराउँछौँ, म्याद थपेर अनुसन्धान गर्छौं,’ उनले भने।
परिसरका अनुसन्धान अधिकृत डिएसपी हरि खतिवडाले सभामुख देवराज घिमिरेलाई सांसद राई पक्राउ परी सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको पत्र लेखेका थिए।
भोजपुरकी राई समानुपातिक सांसद हुन्। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा राई सहसचिव थिइन्। उनी उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।
गत पुस २९ गते सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको उक्त मुद्दामा सरकारी वकिलले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरेको थियो।
त्यतिबेला सरकारी वकिलले माया राईको तीनपुस्ते नखुलेको भन्दै प्रतिवादी कायम गरेको थिएन।
त्यस मुद्दामा लामिछाने ६० लाख धरौटी बुझाएर छुटेका थिए।
माया राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना भएको थियो। त्यसपछि सरकारी वकिलले अनुसन्धान गर्न भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।
निर्देशनसँगै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी लिएको लामो समयपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।