नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म नथाक्ने बताएका छन्।
सोमबार २७ औं दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले एक महिना हुन लाग्दासम्म शिक्षकहरुक आन्दोलनमा डटिरहेको बताएका हुन्।
'यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन्,' उनले भने।
अध्यक्ष सुवेदीले आइतबार प्रहरीले आन्दोलनमा बर्बरताको पराकाष्ठा देखाएको बताए।
'शान्तिपूर्ण आदोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी बर्षायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौं,' उनले भने।
शिक्षकहरु घाइते भए पनि कोही खुट्टा खोच्याउँदै र कोही टाउकोमा बाँधेर आन्दोलनको मोर्चामा आएको बताए।
'केही अफवाहहरु सिर्जना भएका छन् । निश्चित मान्छेहरु संगठित भएर शिक्षक आन्दोलनलाई विभाजन गर्न अनेक थरि कुप्रचार गरिरहेका छन् । त्यो कुप्रचारप्रति सचेत रहन आग्रह गर्दछु,' उनले भने।