सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममूखि काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।
सोमबार हलचोकस्थित मुख्यालयमा उनले निर्देशन दिँदै उक्त कुरा बताएका हुन्।
‘सशस्त्र प्रहरीको बर्दी चम्काउने की यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ त्यसैले संवेदनशिल भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व संकलनका लागि २४ घण्टा सक्रिय रहनु,’ उनले भने।
त्यस्तै आइजिपी अर्यालले लोभलालचमा नफसी संगठनको नीति नियम अनुसार काम गर्न पनि निर्देशन दिए।
‘देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नु भयो भने तपाईलाई कुनै शक्तिले पनि बचाउन सक्दैन त्यसको हेक्का राख्नुहोला,’ उनले भने।
उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन उनले निर्देशन दिए।
मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्ने पनि उनले चेतावनी दिएका हुन्।
त्यस्तै बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक ३-३ महिनामा कमाण्डको पुनरावलोकन तथा पुनर्मूल्यांकन गरिने पनि उनले बताए। त्यसमा कमजोर देखिए कमाण्ड हेरफेर तथा फिर्तासम्म गरिने उनको भनाइ थियो।
महानिरीक्षक अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल संचालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा १ महिनाभित्र सबै कमाण्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिएका थिए।
कार्यक्रममा हालै सरुवा भएका कमाण्डमा जान लागेका प्रदेश स्थित सशस्त्र प्रहरी बल बाहिनी मुख्यालयका बाहिनीपतिहरु, शिक्षालयका समादेशकहरुको उपस्थिती रहेको थियो।
गृह मन्त्रालयले १२ जना डिआइजी र ११ जना एसएसपीहरूको सरूवा गरेको हो।