उत्तर कोरियाको दोस्रो नौसेना जहाज (नेभल डिस्ट्रोयर) प्रक्षेपण गर्ने क्रममा बिग्रिएको छ।
बिहीबार राज्यद्वारा सञ्चालित मिडियालाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी) ले लेखेको समाचार अनुसार नेभल डिस्ट्रोयर जहाजको प्रक्षेपण गर्दा राष्ट्र प्रमुख किम जोङ उन पनि त्यहीँ थिए।
सामान्यत: उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्धी असफलता स्वीकार गर्दैन। तर नौसेना जहाज बिग्रिएको विषय सार्वजनिक गरेर किमले आफू नौसेनाको उन्नति बारे गम्भीर रहेको देखाएको विश्लेषकहरू बताउँछन्।
बुधबार चोङजिनको उत्तरपूर्वी बन्दरगाहमा आयोजित प्रक्षेपण कार्यक्रममा हालै बनेको ५ हजार टनको नेभल डिस्ट्रोयरले सन्तुलन गुमाएको र मुनिपट्टिको भागमा प्वाल परेको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।
उक्त समाचारमा नेभल डिस्ट्रोयर बिग्रिनुको कारण, मानवीय वा अन्य क्षतिको विवरण उपलब्ध छैन।
सो घटनापछि किमले सैन्य अधिकारी, वैज्ञानिक र अपरेटरहरूमाथि दोष लगाएको एपीले जनाएको छ।
किमले यसलाई ‘लापरवाही, गैरजिम्मेवारी र अवैज्ञानिक अनुभवका कारण भएको गम्भीर दुर्घटना र आपराधिक कार्य' बताएका थिए।
यस घटनापछि किमले उक्त गल्तीलाई सम्बोधन गर्न जुन महिनाको अन्ततिर वर्कर्स पार्टीको बैठक बोलाएका छन्।