बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसँग पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोगमा अदालतले २० लाख रूपैयाँ धरौटी माग गरेको छ।
मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीसँग २० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी एवं सुपरिटेन्डेन्ट दामोदर आचार्यका अनुसार नेपालीले धरौटी रकम बुझाउन नसकेपछि जिल्ला कारागार बागलुङ पठाइएको छ।
सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला नेपालीको खातामा ७७ लाख ५० हजार रूपैयाँ अनधिकृत रूपमा गएको र उक्त रकम फिर्ता नगरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले नेपालीलाई प्रतिवादी बनाएको थियो।
सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष जिबी राईसँग विवाद भएपछि नेपालीले उक्त सहकारी छाडेर पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था गठन गरेका थिए।
सूर्यदर्शन सहकारी छाडेपनि हिसाब मिलान नगरेकाले उनलाई प्रतिवादी बनाउनुपरेको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ।
मेयर नेपाली विरूद्ध इमेज बचत तथा ऋण सहकारी संस्था ठगीको पनि अभियोग छ। यसको पुर्पक्षका लागि उनी बागलुङ कारागारमा छन्।
सूर्यदर्शन सहकारीको पेसी परेकाले अदालतले बागलुङ कारागारमा पत्राचार गरेर अदालत उपस्थित गराएको थियो।
पोखरा र बागलुङमा गरी दुइटा सहकारीबाट नेपालीले दुई अर्ब रूपैयाँ ठगी गरेको अभियोग छ। पोखराको इमेज सहकारीको पेसी बिहीबारका लागि तोकिएको छ।
जिल्ला कारागार बागलुङमा पत्राचार गरेर बिहीबारको पेसीमा पनि नेपालीलाई अदालत उपस्थित गराउन पत्राचार गरेको सूचना अधिकारी आचार्यले बताए।
सहकारी ठगी अभियोग लागेपछि मेयर नपाली १६ महिना फरार भएका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।