धनुषामा श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमान झण्डै तीन महिनापछि पक्राउ परेका छन्।
लक्ष्मीनियाँ गाउँपालिका वडा-५ बनिनियाँ बस्ने ४० वर्षीय हरिराम यादव पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले बिहीबार बिहान जनकनन्दनी गाउँपालिका-४ खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरेको हो।
उनकै घरबाट फागुन १७ गते श्रीमती २५ वर्षीय अञ्जली यादवको शव भेटिएको थियो। अनुसन्धानको क्रममा हत्या भएको खुलेपछि यादव खोजिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी वरूणबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार फागुन १७ गते हरिराम यादवले श्रीमतीमाथि कुटपिट गरेको र केही दिनदेखि ९/१० महिनाको बच्चासहित घरमा कोही नदेखिएको भन्दै खबर आएको थियो।
'उनको घरमा कुनै घटना घटेको हुनसक्ने सूचना प्राप्त भयो, हामीले तत्काल अनुसन्धान अगाडि बढायौं,' उनले भने।
स्थानीयले घटना भएको हुनसक्ने सूचना दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अनुसन्धान अगाडि बढाएको उनले बताए।
अनुसन्धानका लागि दम्पतीको घरमा पुग्दा कोही नभएकाले ताल्चा फुटाइ हेरिएको थियो। हेर्दा भुइँ तलामा कूल देवताको पूजा कोठाभित्र नयाँ ढलान देखियो। शंकास्पद लागेपछि फुटाइ हेर्दा करिब दुई फिटमुनि नाङ्गै अवस्थामा अञ्जलीको शव भेटिएको डिएसपी सिंहले जानकारी दिए।
'उनको शव भेटिएपछि सोधपुछ गर्दा ९/१० महिनाको छोरी पनि भएको खुल्न आयो। तर अहिलेसम्म छोरी कहाँ राखिएको छ भनेर खुलिसकेको छैन,' उनले भने।
उनलाई पक्राउ गरेसँगै यस घटनामा थप अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ।