पत्रकार दिलभूषण पाठक अदालत पुगेका छन्।
आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए।
उक्त रिटमा आज पेसी तोकिएको उच्च अदालत पाटनको वेबसाइटमा उल्लेख छ।
पत्रकार पाठकले दिएको निवेदनबारे न्यायाधीश ऋषिराज भण्डारीको इजलासले सुनुवाइ गर्ने तय भएको छ।
पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। 'टफ टक' नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि पाठकले उक्त भिडिओ सार्वजनिक गरेका थिए।
त्यसविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।
जिल्ला अदालतले कार्यक्षेत्रबाहिर गएर पक्राउ पुर्जी जारी भएको भन्दै विरोध पनि भएको थियो।