रुपन्देहीबाट गत वर्ष भन्दा यस वर्षको एसइई परीक्षामा २४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार २०८१ सालको एसइई परीक्षामा रुपन्देहीबाट १७ हजार २ सय ८४ जना विद्यार्थी सहभागी भएकोमा ७१ दशमलव १ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।
२०८० सालको एसइई परीक्षामा रुपन्देहीबाट जम्मा ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। गत वर्ष भन्दा यस वर्ष एसइई परीक्षाको नतिजामा निकै सुधार गर्दै २४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको बन्जाडेले जानकारी दिए।
उत्तीर्ण प्रतिशत मात्र होइन रुपन्देहीबाट ४ जिपिए ल्याउने विद्यार्थीहरूको सङ्ख्या पनि यस वर्ष धेरै छ। बन्जाडेका अनुसार रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट ८७ जना विद्यार्थी ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण भएका छन्।
त्यस्तै ३ दशमलव ६ देखी ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २ हजार ३ सय ५१ रहेको छ। विगतका वर्षहरू जस्तै यस वर्ष पनि सामुदायिक विद्यालयहरूले शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान कायम गरेका छन्। ४ जिपिए ल्याउने अधिकांश विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन्।
हालसम्म प्राप्त नतिजा अनुसार सामुदायिक विद्यालयबाट ४४ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। तिलोत्तमाको मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट यस वर्ष सबैभन्दा बढी १८ जना विद्यार्थी ४ जिपिए ल्याउन सफल भएका छन्।
बुटवलको कालिका मानव ज्ञान माविबाट ७ जना, तिलोत्तमाको योगिकुटीस्थित जनजागृति मावि र सैनामैनाको सैनामैना नमुना माविबाट ४/४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।
त्यस्तै बुटवलको नयाँ गाउँ माविबाट ३ जना, नवरत्न मावि बुटवलबाट २ जना तथा सुनगाभा पब्लिक मावि, सिद्धेश्वर लालकुमारी मावि, नवीन औद्योगिक कद्दरबहादुर रिता मावि, रामापुर मावि, कान्ति मावि, जनकल्याण माविबाट पनि १/१ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।
संस्थागततर्फ पनि न्यु होराईजन स्कुल बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, न्यु लुम्बिनी इङ्लिस बोर्डिङ स्कुल देवदहबाट ४ जना, दीप बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, तिनाउ बोर्डिङ स्कुल बुटवल र प्रभात इङ्लिस बोर्डिङ स्कुल सैनामैनाबाट २/२ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्।
एभरेस्ट मावि बुटवल, ड्रिम भिजन स्कुल, सैनामैना मेमोरियल मावि, न्यु इन्भारमेन्ट स्कुल तिलोत्तमा र होराईजन गौतमबुद्ध मावि तिलोत्तमाबाट १/१ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्।