काठमाडौंमा भारतीय नागरिकको हत्या गर्ने व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ।
काठमाडौं महानगरपालिका-२५ न्ह्योखास्थित एक घरमा भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या भएको हो।
बुधबार बिहान २:४५ बजे उनको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार मृतक सुनका गरगहना बनाउने कालिगढ हुन्।
उनको हत्या गरेको आरोपमा नुवाकोट ककनी घर भई गल्कुपाखा बस्ने ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेको एसपी आचार्यले बताए।
कालिकोटेलाई प्रहरीले नयाँ बसपार्कस्थित एक होटलको कोठा नम्बर १०४ बाट पक्राउ गरेको हो।
पक्राउ परेका कालिकोटे भने सुन व्यवसायी हुन्।
‘पक्राउ परेका व्यक्ति सुन व्यवसायी हुन्। मृतक भने कालिगढ हुन्,’ एसपी आचार्यले भने, ‘दुबै जनासँगै काम गर्ने सँगै खानपिन गर्ने देखियो।’
उनीहरूले मादक पदार्थ समेत सेवन गरेको एसपी आचार्यले बताए।
‘दुबै जनाले मापसे गरेर विवाद भएको देखिन्छ। आरोपीले मलाई अपमान गर्यो, मालिकको व्यवहार नगरेको भनेका छन्,’ उनले भने।
त्यसैबीच विवाद भएपछि सुन बनाउन प्रयोग हुने हम्मरको प्रहार गरी हत्या गरेको उनले बताए। मृतकको मुखमा कपडा कोचेको र टाउकोमा पटक पटक प्रहार गरेको देखिएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिए।
घटना बिहान पौने ३ बजेतिर भएको भए पनि प्रहरीलाई भने १० बजेतिर मात्र खबर भएको थियो। चार तले घरमा अरू पनि कालिगढ बस्थे। तिनीहरूले नै प्रहरीको कन्ट्रोल नम्बरमा फोन गरी घटनाबारे जानकारी दिएको उनले बताए।
प्रहरी वृत्त जनसेवाले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।