भक्तपुरमा एक वर्षअघि भएको ज्यान मार्ने उद्योगको कसुरमा चक्रे मिलन भनिने मिलन गुरूङले इन्कारी बयान दिएका छन्।
सरकारी वकिलको कार्यालय भक्तपुरमा गत शुक्रबार दिएको बयानमा चक्रे मिलनले ज्यान मार्ने उद्योगको कसुरमा आफ्नो संलग्नता नरहेको बताएको सरकारी वकिल स्रोतले जानकारी दिएको छ।
अहिले चक्रे मिलनसहित उनको समूहका १९ जना काठमाडौं प्रहरीको हिरासतमा छन्।
बयान लिएपछि भक्तपुर प्रहरीले चक्रे मिलनलाई काठमाडौं फिर्ता समेत गरिसकेको छ।
चक्रेको एउटा समूहले मनिष रायमाझी भन्ने व्यक्तिमाथि खुकुरी प्रहार गरेको घटनामा उनीमाथि सोधपुछ भएको हो।
मध्यपुर थिमी नगरपालिका-२ सानोठिमीको एक रेष्टुरेन्टमा २०८१ भदौ १० गते रायमाझीमाथि खुकुरी प्रहार भएको थियो।
त्यो घटना हुँदा आफू घटनास्थलमा नभएको र आफ्नो कुनै संलग्नता पनि नभएको भनेर चक्रे मिलनले बयान दिएका हुन्।
‘म त्यहाँ थिइन भनेर इन्कारी बयान दिएका छन्,’ स्रोतले भन्यो।
खुकुरी प्रहार भएको घटनामा प्रहरीले सर्लाही घर भई ललितपुरको ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवासलाई पक्राउ गरेको थियो। उनले सफाइसमेत पाइसकेका छन्।
खुकुरी प्रहारबाट मनिषको दुबै कोखामा चोट लागेको थियो। टाउकोमा समेत निलडाम हुने गरी कुटपिट गरेको आरोप थियो।
सरकारी वकिल कार्यालय भक्तपुरमा प्रतिवादी बनाइएका अजित खवासले बरू उल्टै घाइते भएका मनिषलाई प्रहरीकहाँ पुर्याइदिएको र त्यहाँबाट प्रहरीले अस्पताल पुर्याएको बयान दिएका थिए।
मनिषसँग भेट भएपछि ८/९ जनाको समूह आएर ‘तैं हैन’ भनेर कुटेको उनको भनाइ थियो। उक्त समूहले आफूलाई समेत कुटपिट गरेको उनले बताएका थिए।
यसरी घटना भएपछि उनले तीनकुनेको प्रहरी चौकीमा पुर्याएको र मनिषले ‘मामा मलाई चक्रेले पिट्यो’ भनेका थिए।
पछि घाइते भएका मनिषलाई कान्तिपुर अस्पतालमा लगिएको थियो।
मनिषले फेसबुक स्टाटसमार्फत चक्रे मिलनलाई गाली गरेका कारण चक्रे मिलनका मानिसहरूले उनीमाथि कुटपिट गरेको आरोप छ।
तर पछि मनिषले फोन गरेर प्रहरी कार्यालयमा बोलाएर जाँदा पक्राउ परेका थिए। उनले आफूले चक्रे मिलनसँग कुनै सम्बन्ध र चिनजान समेत नभएको बताएका थिए। मनिष र अजित एउटै गाउँका हुन्।
सिसिटिभी भिडिओ हेरेपछि भने अजितले नै चक्रे मिलनलाई मनिष बसिरहेको ठाउँ खुलाइदिएको आरोप थियो।
घाइते भएका मनिषले सरकारी वकिल समक्ष गरेको कागजमा अजित खवासले सूचना दिएको हुनसक्ने बताएका थिए।
‘अजित खवासले मेरो बारेमा सूचना दिई मिलन चक्रे भन्ने मिलन गुरुङका मानिस ज्यान मार्नेसम्मको प्रयास गरेका हुन्,’ कागजमा भनेका थिए।
त्यतिबेला चक्रे मिलनको नाम पक्राउ परेका अजित र पीडित मनिषले खुलाएका थिए।
तर प्रहरीले चक्रे मिलनको तीन पुस्ते विवरणसहित यकिन वतन नखुलेको र पक्राउ नपरेको भन्दै मुद्दा अघि बढाएको थिएन।
यसरी सरकारी वकिलले उनलाई प्रतिवादी नबनाएरै २०८१ असोज ४ गते मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा जिल्ला अदालत भक्तपुरले सुनुवाइसमेत अघि बढाइसकेको थियो। गत चैत २८ गते अजितविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा जिल्ला न्यायाधीश दिलिपराज पन्तको इजलासले दाबी नपुग्ने भनेर अन्तिम फैसला गरेको थियो।
यद्यपि यही कसुरमा चक्रे मिलनलाई प्रतिवादी बनाएर पुरक अभियोग दायर गर्न लागेको हो।
चक्रे मिलनसहित १९ जनालाई काठमाडौं प्रहरीले साउन १५ गते मध्यराति महाराजगन्जबाट पक्राउ गरेको थियो।
मानिसमा त्रास फैलाउन खोजेको, होहल्ला गरेको, बाटो छेकेर प्रदर्शन गरेको आरोप लगाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।
चक्रे मिलनको जन्मदिन मनाइरहँदा प्रहरी उक्त होटलमा पुगेको थियो। सुरूमा ४७ जनालाई पक्राउ गरिएको थियो। तर पछि १९ जनामाथि मात्रै प्रहरीले अभद्र व्यवहारको कसुरमा म्याद थप गरेको थियो।