नेपालीलाई यही कारणले ग्याष्ट्रिक हुन्छ भन्ने विशेषत केही छैन। तर आम नेपालीहरूमा ग्याष्ट्रिकको समस्या अलि धेरै छ। यसले गर्दा हाम्रो खानपिन, हाम्रो वातावरण, आर्थिक क्षमता लगायतले पनि असर पार्न सक्छ।
कतिपय वंशाणुगत हुन्छ भने कतिपय ब्याक्टेरियाको कारणले हुन्छ।
हाम्रो जस्तो देशहरूमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टोरियाको कारणले धेरै समस्या देखिन्छ। योसँगै हाम्रो खानपिन, रहनसहन र वातावरणले पनि असर गर्छ। जस्तो: चुरोट खाने, रक्सी खाने कारणले पनि ग्याष्ट्रिक हुन सक्छ। नदुख्ने औषधि खाएका कारणले पनि हुन्छ भने कतिपय अरू औषधिले पनि ग्याष्ट्रिक गराउन सक्छ।
त्यस्तै, कति कुरा हाम्रो जीवनशैलीको कारणले पनि हुन्छ। तनावका कारण एसिड उत्पादन हुने तर त्यसलाई सन्तुलन गर्ने संयन्त्र कमजोर हुन्छ।जसले गर्दा ग्याष्ट्रिक, अल्सर हुन्छ।
हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुले क्यान्सरसम्म पनि गराउन सक्छ।
खाना खाएपछि अप्ठ्यारो हुने, पेट दुख्ने, अमिलो पानी आउने, ढ्याउ ढ्याउ हुने, दिसा कालो र रगत मिसिएको आयो भने ग्याष्ट्रिक भयो कि भनेर आशंका गर्नुपर्छ।
सुरूमा ग्याष्ट्रिक भएको पत्ता लगाउनु पर्छ भने चिकित्सकको सल्लाहको आधारमा भिडिओ एक्सरे, इण्डोस्कोपी लगायत परीक्षण गर्न जरूरी छ।
रोग लागेर औषधि खाएर कम गर्नेभन्दा पनि कसरी बच्न सकिन्छ भन्ने महत्वपूर्ण कुरा हो। नेपालीहरूमा धेरै यस्तो समस्या देखिएको छ। हामीले यो रोगबाट कसरी बचाउन सकिन्छ भन्ने हो भने कुनै पनि रोगको उपचारभन्दा रोकथाम ठूलो कुरा हो। त्यसको लागि हाम्रो जीवनशैली नियमित हुन पर्छ।
हामीले खाने समय, आराम गर्ने समय मिलाएर तनावमुक्त जीवन बितायौं भने धेरै ठिक हुन्छ।
यसबाट जोगिन हामीले सन्तुलित भोजन गर्नुपर्छ। यो भनेको कार्वोहाइड्रेट, प्रोटिन, चिल्लोको मात्रा, मिनरल, भिटामिन अनि पानीको मात्रा सन्तुलन मिलाएर खानु हो। जुन कुरा हामीले गरिराखेका हुँदैनौं। भोजभतेर भयो भने मासु मात्र खाइदिने, चाडपर्व आएपछि अल्कोहलमै डुब्दिने हाम्रो बानी छ। अनि कुनै खुसीयाली मनाउन पर्यो भने भुटेको तारेको मात्र खान्छौं। जसले गर्दा पनि ग्याष्ट्रिक अलि बढ्छ। त्यसैले हामीले हाम्रो जीवन शैलीलाई नियमित बनायौं भने हामीले खाने समय, आराम गर्ने समय, काम गर्ने समयमा पनि सन्तुलन मिलाउन जरूरी छ। मेडिकलमा गएर सिधै औषधि लिनु हुँदैन। यद्यपी कतिपय औषधि ओभर द काउन्टर पनि हुन्छ।
कुनै समय ग्याष्ट्रिकको औषधि जति खाए पनि 'साइड इफेक्ट' हुँदैन भनिन्थ्यो। तर अहिले त्यसको थुप्रै साइड इफेक्ट देखिन थालेको छ। जुन कुरा हामीले आम नागरिकलाई बुझाउन सकेका छैनौं। हामीले महिनौं, वर्षौं आफ्नै तरिकाले औषधि खाइरहेका हुन्छौं तर यसले कतिको हड्डी कमजोर बनाएको हुन्छ। जसले गर्दा हड्डी कमजोर भएर फ्याक्चर भइरहेको हुन्छ। कतिलाई धेरै असर गरेर क्यान्सरसम्म हुन्छ कि भन्ने अध्ययनले देखाइसकेको छ। त्यसैले ग्याष्ट्रिकको औषधि लिँदै गर्दा चिकित्सकसँग पनि समय समयमा सल्लाह लिनुपर्छ।
ग्याष्ट्रिकको सबै खाले उपचार सेवा नेपालमा उपलब्ध छ। अझै भन्नुपर्दा ग्याष्ट्रिक मात्र होइन अरू धेरै किसिमका रोगको उपचार नेपालमा संभव छ। वीर अस्पतालसँगै नेपालका अस्पतालहरू र चिकित्सकहरू धेरै सक्षम भइसकेका छन्।
उपचार मात्र होइन स्वास्थ्य शिक्षाका लागि समेत हामी धेरै अगाडि छौं।
मेडिकल शिक्षा भनेको परिवर्तन भइरहने कुरा हो। यो एकपटक सुरूमा जे भयो त्यो सधैं रहँदैन। स्वास्थ्य सेवामा त दिनदिनै नयाँ-नयाँ अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाइरहेका हुन्छन्।
ग्याष्ट्रोइन्टेरोलोजिष्ट र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति भएकाले मेरो जिम्मेवार उपचारसँगै 'मेडिकल एजुकेसन' मा रहन्छ।
हामीले राम्रो पाठ्यक्रम बनायौं अनि हाम्रो आवश्यकता के हो भन्ने निर्धारण गर्न सक्यौं भने धेरै सहज हुन्छ। हामीलाई कति डाक्टर चाहिन्छ कति अन्य स्वास्थ्यकर्मी चाहिन्छ त्यसका आधारका कोटा निर्धारण गर्नपर्छ भन्ने हो।
पछिल्लो समयको आकडालाई आधार मान्ने हो भने हामीले 'मेडिकल एजुकेसन' मा धेरै प्रगति गरेका छौं। ३० वर्ष पहिला एउटा मेडिकल कलेज थियो भने अहिले २५ पुगेका छन्। अहिलेको स्थितिमा नेपालमा जनशक्तिको कमी भएजस्तो लाग्दैन। अहिले हामी संख्यामा भन्दा पनि गुणस्तरमा जानुपर्छ भन्ने मलाई लाग्छ।
स्वास्थ्य क्षेत्रमा जनशक्ति जरूरी छ भनेर मेडिकल कलेजहरू थपेर मात्र समस्याको समाधान हुँदैन।
न्याम्सकै कुरा गर्ने हो भने यसको स्थापना विशेषज्ञ जनशक्तिको कमीलाई पूरा गर्न बनेको हो। यसमा न्याम्सले ठूलो भूमिका खेलेको छ। यहाँबाट झण्डै १६ सय जना जनशक्ति उत्पादन भइसकेको छ। अहिले पनि १ हजारभन्दा धेरै ट्रेनिङमा छन्।
(चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति रहेका ग्याष्ट्रोइन्टेरोलोजिष्ट प्रा.डा. भुपेन्द्र बस्नेतसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)