शनिबार पोखरा रंगशालाको ट्र्याकमा हिट चरणमा बनेको रेकर्डले सबै चकित बनेका थिए।
लुम्बिनीकी निशा चौधरीले महिला सय मिटर दौडको हिट चरणमा २३ वर्ष पुरानो रेकर्ड भंग गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएकी थिइन्।
१९ जना दौडिएको सो हिटमा निशाले १२.१५ सेकेन्डमा दौड पूरा गर्दै नयाँ रेकर्ड बनाएकी थिइन्। तर यो रेकर्ड तत्काल नै सार्वजनिक गर्ने पक्षमा एथ्लेटिक्सका अफिसियल थिएनन्। किनभने अन्तिम प्रतिस्पर्धामा नयाँ रेकर्ड बन्न सक्ने अवस्था थियो।
अन्तिम प्रतिस्पर्धाका लागि आफ्नो उत्कृष्ट दिनका लागि कतिपय खेलाडीले हिट चरणमा छनोट हुने गरी मात्र खेल्छन्।
नभन्दै निशाले दुई घन्टाअघि बनाएको रेकर्ड अन्तिम चरणमा भंग भयो। नेपाली सेनाकी सरस्वती चौधरीले १२.१३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितिन्।
यो ‘टाइमिङ’ नेपाली महिला स्प्रिन्टरको अहिलेसम्मकै उत्कृष्ट हो। नेपालकै तीव्र गतिकी (फास्टेस्ट) महिलाको रेकर्ड आफ्नो नाममा लेखाएकी सरस्वतीले २३ वर्ष पुरानो रेकर्ड भंग गरेकी हुन्।
यसअघि सन् १९९९ मा भएको दक्षिण एसियाली खेलकुदमा देवीमाया पेनरूले १२.१९ सेकेन्डमा सय मिटर दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यसको २३ वर्ष कुनै नेपाली महिला स्प्रिन्टरले उनको रेकर्ड भंग गर्न सकेनन्।
नेपालकै तीव्र गतिका कुद्न सक्ने महिलाको कीर्तिमान बनाएकी टोकियो ओलम्पिकमा समेत प्रतिस्पर्धा गरेकी सरस्वतीलाई लुम्बिनी प्रदेशकी निशाले कडा टक्कर दिएकी थिइन्।
अन्तिम मिटरसम्म सँगै कुदेकी निशा दोस्रो स्थानमा सीमित बन्नु पर्दा निराश देखिएकी थिइन्।
यता २३ वर्ष पुरानो रेकर्ड भंग गरेपछि सरस्वती भने निकै खुसी देखिइन्।
‘यसका लागि निकै मेहनेत गरेको थिए। मेरो लक्ष्य राष्ट्रिय रेकर्ड बनाउने थियो,’ स्वर्ण जितेपछि सरस्वतीले सेतोपाटीसँग भनिन्, ‘तर आजै कीर्तिमान बन्छ जस्तो लागेको भने थिएन।’
आजको प्रतिस्पर्धामा स्वर्ण जित्नेमा भने उनी ढुक्क थिइन्।
‘रेकर्डबारे नसोचे पनि स्वर्ण जित्नेमा भने आत्मविश्वासी थिएँ,’ उनले भनिन्।
हेर्नुहोस् भिडिओ :