गण्डकीका अमृत थापामगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन्।
सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते। उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए।
खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे। दोस्रो सेटमा ८–११ ले गुमाए। तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे। तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते।
दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे। भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते।
पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए। उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ।