पर्वतका अनिश थापा मगर भारतीय सेनामा आवद्ध भएको १३ वर्ष भयो। त्यहाँ उनी धावकको रूपमा परिचित छन्। भारतीय सेनाको आन्तरिक प्रतियोगितामा अनिश निरन्तर प्रतिस्पर्धा उत्रिन्छन्।
त्यहाँको आन्तरिक प्रतियोगितामा सहभागी भए पनि उनको धोको नेपालको राष्ट्रिय प्रतियोगितामा सहभागी भएर स्वर्ण जित्नु थियो।
उनी २०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएका थिए। त्यतिबेला उनले स्वर्ण जित्न सकेनन्।
त्यसपछि जागिरका लागि भारतीय सेनामा आवद्ध भएका अनिश २०७६ मा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन नेपाल आए।
दाङको बेलझुण्डीको रंगशालामा उनी १० हजार किलोमिटर दौड दौडिएका उनी रजतमा सीमित भए। दोस्रो प्रयासमा पनि राष्ट्रिय खेलकुदमा स्वर्ण सकेनन्।
पोखरामा जारी नवौंमा सहभागी हुन बिदा मिलाएर नेपाल आएका अनिश तेस्रो प्रयासमा भने सफल भए। मंगलबार भएको म्याराथनमा उनले गण्डकी प्रदेशबाट खेल्दै स्वर्ण जिते।
राष्ट्रिय खेलकुदको इतिहासमा गण्डकीले म्याराथनबाट पहिलो स्वर्ण जित्दा अनिशले दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा ४२.१९५ किलोमिटर दूरी पूरा गरे।
१८ जना सहभागी भएको म्याराथनमा आर्मीका कृष्ण बस्नेतले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक हात पारे।
घरेलु मैदानमा स्वर्ण जितेपछि अनिशले निकै खुसी थिए। ‘यसपटक जसरी पनि स्वर्ण जित्छु भन्ने थियो। घरेलु मैदानमा स्वर्ण जित्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भने।
उनी भारतमा रहँदा १० हजार मिटर दौडका लागि अभ्यास गर्छन्। त्यसका लागि विशेष अभ्यास गरेका उनी मंगलबारको आफ्नो टाइमिङमा भने सन्तुष्ट छैनन्। ‘लामो दौडमा भएकाले सोचेको जस्तो समय आउन सकेन,’ उनले भने।
नेपालको राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि अब उनका लागि नेपालबाट खेल्ने अवसर हुनेछ। तर भारतीय सेनामा आवद्ध भएकाले उनले त्यहाँबाट अनुमति भने लिनुपर्नेछ।
‘नेपालबाट खेल्न पाउनु एकदमै ठूलो कुरा हो। अवसर पाए भने बिदा मिलाउर अवश्य पनि आउनेछु,’ उनले भने।
हेर्नुहोस् भिडिओ: