सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतमै सीमित बनेपछि उसु खेलाडी विजय सिञ्जाली भक्कानिएका थिए।
१६ वर्षे विजयलाई सम्हाल्न प्रशिक्षकलाई समेत गाह्रो परेको थियो। तीन वर्षपछि भने माहौल फेरिएको छ।
१३ औं सागमा उसुको छानछ्वान विधामा स्वर्ण जितेपछि सिञ्जाली निकै हार्षित देखिन्थे।
'भारतमा भएको सागमा रजतमा सीमित बनेपछि निकै रोएको थिएँ,' उनले भने,'अहिले स्वर्ण जित्दा निकै खुसी छु, मलाई सिकाउने सबै गुरुहरूलाई धन्यवाद दिन चाहन्छु।'
१९ वर्ष सिञ्जालीले सागमा स्वर्ण जित्ने यसअघि नै अनुमान गरिएको थियो। किनभने उनले गत अक्टोबरमा चीनको संघाईमा भएको विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
१० पूर्णाङ्कको छानछ्वानमा सिञ्जालीले उत्कृष्ट कला देखाउँदै ९.४२ अंक जोडेका थिए भने विश्वभरका ८८ खेलाडीमध्ये १६ स्थानमा रहेका थिए।
यो अंक दक्षिण एसियाका खेलाडीमा उत्कृष्ट मानिन्छ। मंगलबार लगनखेलस्थित आर्मीको कबर्डहलमा सिञ्जालीले उत्कृष्ट कला देखाए।
पाँच खेलाडी सहभागी भएको प्रतिस्पर्धामा सुरूमै चार खेलाडीले आफ्नो कला देखाएर अंक जोडिसकेका थिए। जसमा बंगलादेशका मोहम्मद ओमारले ९.३४ अंक र भारतका अन्जुलले ९.१६ अंक जोडेका थिए। त्यसैले अन्तिममा म्याटमा उत्रनुअघि सिञ्जालीमाथि ठूलो दबाब थियो।
'मैले अरु प्रतिद्वन्द्वीहरूको खेल हेरिन्। किनभने अरुको हेर्दा आत्मविश्वास कम हुन्छ कि भन्ने डर थियो,' उनले भने,'जब मैले खेलिसकेँ सँगै रहेका गुरुले मैले जित्ने संकेत गरेपछि ढुक्क भएँ।' सिञ्जालीले ९.४८ अंक ल्याएर उसुबाट १३ औं सागमा पहिलो स्वर्ण दिलाए।
अब उनले एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य बनाएका छन्।
'अब मेरो लक्ष्य एसियाली खेलकुदमा स्वर्ण जित्ने हो। त्यसका लागि मेहेनत गर्छु,' उनले भने।
उसुबाट दोस्रो स्वर्ण जितेकी सुस्मिता तामाङको पनि कथा उस्तै छ। उनी पनि भारतमा भएको १२ औं सागमा रजतमै चित्त बुझाउन बाध्य भएकी थिइन्।
तीन वर्षपछि उनको प्रदर्शनमा निखार आयो। जसले उनले सजिलै स्वर्ण जित्न सफल भइन्। हुन त सुस्मितालाई पनि सागकी स्वर्ण दाबेदारको रूपमा लिइएको थियो। म्याचमा उत्रर्ने अघिल्लो दिन सुस्मिता निकै ‘नर्भस’ भएको बताउँछिन्।
'हिजो राति ९ बजे सुत्न खोजेको सक्दै सकिनँ,' उनले भनिन्,'भोलिको प्रदर्शन कस्तो हुने हो भन्ने चिन्ताले सताएको थियो।'
विश्व च्याम्पियनसिपमा ‘डिफिकल्टिज अफ डिग्री’ परिवर्तन गर्दा उनको प्रदर्शन बिग्रिएको थियो।
अझ उसुको म्याट ढिला आउँदा राम्रोसँग अभ्यास गर्न पाएकी थिइनँ।
'नयाँ म्याटमा एक दिन मात्र अभ्यास गर्न पाएँ, त्यसैले ‘डिफिकल्टिज अफ डिग्री’ परिवर्तन गर्दा समस्या आउँछ कि भन्ने चिन्ता थियो,' उनले भनिन्।
तर त्यस्तो केही भएन। सुस्मिताले उत्कृष्ट प्रदर्शन गरिन्। उनले उसुको छानछ्वान ९.४४ अंक ल्याएर स्वर्ण जितिन्। दोस्रो भएकी श्रीलंकाका वातसालाले ८.८५ र तेस्रो भएकी बंगलादेशकी नुर बाहेर बेगमले ७.३५ अंक प्राप्त गरिन्।
'सागमा स्वर्ण जित्ने सपना पूरा भएको छ, अब एसियाली खेलकुदमा नेपालका लागि पदक दिलाउन चाहन्छु,' उनले भनिन्।