१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भारतले बक्सिङमा आफ्ना स्टार खेलाडी मनिष कौशिकबाट स्वभाविक स्वर्णको आसा गरेको थियो।
मनिष सागका लागि नेपाल आएकामध्ये अनभुवी र उत्कृष्ट खेलाडी थिए।
मनिष २०१८ को कमनवेल्स गेम्सका रजत विजेता हुन्। ४८ देशले भाग लिएको बक्सिङमा उनले फाइनलमा स्थान बनाउनु भारतीय बक्सिङका लागि उपलब्धिको विषय बनेको थियो।
यस्तै कौशिकले तीन महिनाअघि रसियामा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य जितेका थिए।
कौशिकले सागमा भाग लिँदा सबैभन्दा दबाब नेपालका प्रतिस्पर्धी भूपेन्द्र थापा मगरलाई थियो। किनभने उनलाई घरेलु मैदानमा आयोजना भएको सागमा जसरी पनि स्वर्ण जित्नु थियो। तर त्यो स्वर्ण जित्नका लागि हराउनु पर्ने प्रतिद्वन्द्वी विश्वस्तरीय थिए।
त्यसैले होला भूपेन्द्र साग सुरू भएदेखि निदाउन सकेका थिएनन्।
'सबैको आसा ममाथि थियो,' उनले भने, 'त्यसैले जतिबेला पनि भारतीय खेलाडीलाई कसरी हराउने योजना बनाउँथे। उसले खेलेका फाइटका भिडिओ हेर्थें अनि कमजोरी पत्ता लगाउथें।'
प्रशिक्षक र पदाधिकारीले भूपेन्द्रमाथि राखेको अपेक्षाले जसरी पनि स्वर्ण जित्नु पर्ने भन्ने उनमाथि जिम्मेवारी थपिएको थियो।
'उसको स्पिड र कलालाई मैले सक्दैन थिएँ,' उनले भने, 'त्यसैले उनीमाथि आक्रामक हुनुबाहेक मसँग विकल्प थिएन।'
सुरूमा भूपेन्द्र भुटानका खेलाडीसँग क्वार्टरफाइनलमा भिडे। सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनलमा उनको भेट एघारौं सागका स्वर्ण विजेता बंगलादेशका खेलाडीसँग थियो। सेमिफाइनल पनि उनले स्वभाविक खेल पस्के।
भारतका कौशिकसँग फाइनल भिडन्त हुने उनको पहिले नै आँकलन थियो। त्यसैले उनले जतिबेलमा पनि भारतीय खेलाडीलाई हराउने रणनीति बुनेका थिए।
'यो मेरो बोर्ड परीक्षाजस्तै ठानेर तयारी गरिरहेको थिएँ,' उनले भने।
उनको यो परीक्षा सोमबार थियो। सातदोबाटोस्थित कराते कबर्डहलमा भएको प्रतिस्पर्धामा भूपेन्द्रमाथि कौशिक पहिलो राउन्डमा हाबी देखिएका थिए।
'पहिलो राउन्ड मैले हारेको हो। त्यतिबेला मैले उसलाई जाँचिरहेको थिएँ,' उनले भने।
दोस्रो र तेस्रो राउन्ड भने भूपेन्द्रले विपक्षीलाई पेलेरै खेल्ने योजना बनाए।
'पहिलो राउन्डमा प्राविधिक रूपमा नसकेपछि दोस्रो र तेस्रो राउन्डमा उनीमाथि आक्रामक रूपमा प्रस्तुत भए, हानेरमात्र पनि भएन फेरि उसको पञ्च पनि रोक्न पुर्यो' उनले भने,'दर्शकको हुटिङले पनि ठूलो साथ दियो। ५० प्रतिशत शक्ति दर्शकको हुटिङबाटै आइरहेको थियो।'
घरेलु दर्शकको साथले उनले २० वर्षपछि नेपाललाई बक्सिङबाट स्वर्ण दिलाए।
जितपछि भूपेन्द्र रिङमै भावुक भएका थिए। लाग्थ्यो उनको वर्षौंदेखिको सपना पूरा भयो। उनले भारतका स्टार बक्सरलाई पराजित गरेको क्षणलाई जीवनकै अविस्मरणीय क्षणको रूपमा लिएका छन्।
रोल्पाका ३० वर्षीय भूपेन्द्रलाई १२ कक्षाको परीक्षा दिने बेलासम्म बक्सिङबारे थाहा थिएन।
'२०६५ सालमा दाङमा प्लस टुको परीक्षा दिएर बसिरहेको थिए,' उनले भने, 'छिमेकका साथीहरू बक्सिङ सिक्दा रहेछन्। मलाई पनि रहर लाग्यो।'
बक्सिङ सिकेको तीन महिनामै उनले क्षेत्रीय प्रतियोगितामा भाग लिएँ। जहाँ उनी पहिलो हुँदै छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिए। राष्ट्रिय प्रतियोगितामा छानिए पछि नै हो उनले बक्सिङलाई करिअर सोच्न थालेको। पहिलो राष्ट्रिय प्रतियोगितामा उनको प्रदर्शन राम्रो हुन सकेन। छैटौं राष्ट्रिय प्रतियोगितादेखि भने उनले स्वर्ण जित्न थाले।
अहिले उनी नेपाल पुलिस क्लबमा आबद्ध छन्।
'पुलिस क्लबमा आबद्ध भएपछि बस्न, खान र प्रशिक्षण गर्न समस्या छैन,' उनले भने, 'खेलमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमात्र चिन्ता हो।'
अब उनले लक्ष्य ओलम्पिक छनोटमा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएका छन्।
'डेढ महिनापछि चीनमा हुने ओलम्पिकमा राम्रो खेल्ने लक्ष्य छ, सकेसम्म छनोट हुने प्रयास गर्नेछु,' उनले भने।