स्थान- दशरथ रङ्गशालाको सडक छेउ, समय- मंगलबार दिउँसो साढे २ बजे। थामी नसक्नु भीड छ। ट्राफिकहरु मुल सडकमा सवारी आवागमन व्यवस्थित गराउन व्यस्त छन्। प्रहरीलाई भीड सम्हाल्न हम्मे हम्मे छ।
सबिना तामाङ र बिकेश डंगोललाई पनि प्रहरीझै भ्याई नभ्याई छ। हातमा ब्रस र रङ लिएर फुटबल समर्थकको अनुहारमा नेपालको झण्डा बनाउने अन्तिम दिन थियो।
दक्षिण एसियाली खेलकुदअन्तर्गत नेपाल र भुटानबीच फाइनल खेल हुँदै गर्दा सबिना र बिकेश फुटबल समर्थकको अनुहारमा झण्डा बनाउन लागे। रंगशाला अगाडि अनुहारमा चित्रकला देखाउने अवसर संयोगले पाएको सबिनाले बताइन्।
‘शनिबार छम्पी शेर्पाले हामीलाई बच्चाहरुको फेस पेन्ट गर्न बोलाउनु भयो’ सबिनाले भनिन्। संयोगबस त्यही दिन नेपाल र मालदिभ्सको म्याच थियो। बिकेशले म्याचको टिकट पनि पहिल्यै लिएका रहेछन्।
‘१२ बजेसम्म त उतै काम गरेका थियौँ, १ बजेबाट म्याच थियो’ सबिनाले भनिन् ‘हामी त्यहा पुग्दा अरुले फेस पेन्ट गरिरहेको देख्यौँ, हामीसँग रङ र ब्रस थियो अनि त हामीलाई के चाहियो।’
शनिबार उनीहरुले आघा घण्टामा करिव ६ हजार रुपैयाँ कमाए। अर्को दिन भने १५ सय जति मात्र कमाई भयो। अन्तिम दिन मंगलबारको कमाई भने उनीहरुले हिसाब किताब गर्न भ्याएका थिएनन्।
आफूहरु मेला, महोत्सव लगायत भिडभाड हुने ठाउँमा गएर फेसपेन्ट गर्ने गरेको सबिनाले बताइन्। ‘हामी स्ट्रगल फेजमा छौँ, हामीले प्रयोग गर्ने इक्युप्मेन्ट पनि महँगो पर्छ, त्यसैले हामी पार्ट टाइममा यस्तो काम गर्छौँ’ उनले भनिन्।
अहिले ललित कला क्याम्पसबाट स्नातक सकेका लाछेन र अंकितासहित ४ जनाको ग्रुप छ। चारै जनाले विभिन्न ठाउँमा पार्ट–टाइम जागिर गरिरहेका छन्।
आफ्नो कलालाई निखार्न र यसैबाट जिविकोपार्जन गर्न उनीहरुले ‘स्ल्याब’ स्टुडियो खोल्दै छन्। जसमा उनीहरुले आफुले जानेको काम गर्नेछन्।
ग्रुपको चारै जानको पहिलो अक्षर मिलाएर आफ्नो स्टुडियोको नाम जुराएका हुन्। ‘अहिले हामीले पकेट मनीको लागि काम गरिरहेका छौँ, यो स्टुडियो खुलेपछि व्यवसायिक रुपमा काम गर्नेछौँ’ सबिनाले भनिन्।
कला क्षेत्रमा अरु क्षेत्र भन्दा धेरै समस्या भएको सबिनाको अनुभव छ। ‘यो क्षेत्रमा परिवारकै समर्थन हुँदैन तर कलाको बारेमा बुझेको मान्छेले भने धेरै रेस्पेक्ट दिनुहुन्छ,’ उनले भनिन्।