१३औं दक्षिण एसियाली खेलकुद (साग) अघि नेपालका दुई वटा चुनौती थिए। एउटा घरेलु मैदानमा नेपालले गर्ने प्रदर्शन र अर्को आयोजकको हैसियतले नेपालले गर्ने व्यवस्थापन।
पहिलो चुनौतीमा नेपाल सफल भयो। नेपालले साग इतिहासमै पहिलो बढी पदक जितेर रेकर्ड बनायो। नेपालले १३ वटा खेलबाट ५१ स्वर्ण पदक जित्न सफल भयो।
सन् १९९९ मा नेपालले ३१ स्वर्ण जित्दा कराते र तेक्वान्दोबाट मात्र २८ स्वर्ण जितेको थियो। यसपटक कराते र तेक्वान्दोले २० वर्षको जस्तो दबादबा कायम गर्न नसके पनि उच्च प्रदर्शन गर्न सफल भए।
करातेबाट नेपालले १० स्वर्ण जित्दा तेक्वान्दोबाट १२ स्वर्ण हात पार्यो। करातेमा भारत सहभागी भएको थिएन। यद्यपी नेपालले करातेमा भारतलाई बलियो प्रतिद्वन्द्वी मान्ने गरेको छैन।
भारत सहभागी तेक्वान्दोमा नेपालले उत्कृष्ट खेल्दै २९ मध्ये १२ स्वर्ण हात पार्यो।
बक्सिङमा पनि नेपालले २० वर्षपछि स्वर्ण जित्न सफल भयो। तीन स्वर्ण मध्ये मिनु गुरुङले जितेको स्वर्ण ऐतिहासिक रह्यो। उनी सागमा नेपालका लागि स्वर्ण जित्ने पहिलो बक्सर बनिन्।
साइक्लिङको रोड रेसबाहेकका प्रतिस्पर्धामा नेपालले आफ्नो बर्चश्व जमायो। नेपालले साइक्लिङको डाउनहिल र क्रसकन्ट्रीका सबै स्वर्ण आफै राख्यो।
नेपालको प्रदर्शन सुधार आएको खेल हो, एथ्लेटिक्स। नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा चमत्कारिक खेल पस्कने क्रममा भारतीय खेलाडीलाई ०.०१ सेकेण्डले पछि पारेकी थिइन्। उनी नेपालका लागि एथ्लेटिक्सबाट स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन्। यस्तै नेपालले पुरुष म्याराथन र ५ हजार मिटर दौडबाट पनि स्वर्ण ल्यायो। गत संस्करणको सागमा नेपाली एथ्लेटिक्स स्वर्णबिहीन बनेको थियो।
पौडीमा नेपालले व्यक्तिगत स्पर्धा पहिलो पटक स्वर्ण जितेर इतिहास बनायो। भारत र श्रीलंकाको दबदबा रहने गरेको पौडीमा नेपालकी गौरिका सिंह एक्लैले चार स्वर्ण जितिन्। उनी नेपालका लागि एकै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भइन्।
भारोत्तोलनमा नेपालले १३ वर्षपछि स्वर्ण जित्न सफल भयो। भारोत्तोलन खेलाडी सञ्जु चौधरी नेपालका लागि भारोत्तोनबाट स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन्।
नेपालले जुडोबाट जितेका दुवै स्वर्ण जित्ने महिला खेलाडी बने। कुस्तीबाट पनि नेपालका लागि संगिता धामीले ऐतिहासिक पदक दिलाइन्। उनी कुस्तीबाट स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन्।
उसुको प्रदर्शन पनि नेपालका लागि ऐतिहासिक रह्यो। नेपालले उसुबाट पहिलो पटक ५ स्वर्ण हात पार्यो।
अंक तालिकामा ठूलो महत्व राख्ने पौडी र एथ्लेटिक्समा नेपालको प्रदर्शन सुधार हुनु सकारात्मक पक्ष हो। मार्सल आर्ट्समा निरन्तर पदक आइरहदा नेपालको साख बचिरहेको छ।
टिम खेलमा नेपाल पुरुष फुटबलमा मात्र सफल रह्यो। महिला फुटबलमा सधैं झैं भारतसँग हार्यो।
टेबलटेनिस, टेनिस, कबड्डी, बास्केटबल, ह्यान्डबलमा र महिला भलिबलको स्तरमा सुधार आए पनि भारतसँग भने पछि नै पर्यो।
व्यवस्थापनको हिसाबले भने धेरै कमजोरी देखिए। उद्घाटन हुने रंगशाला अन्तिम अवस्थामा मात्र तयार भयो। दशरथ रंगशालामा भिआइपी प्याराफिटको कुर्सी उद्घाटनको अघिल्लो रात मात्र हालिएको थियो।
उसु खेलाडीले पुरानो म्याटमै अभ्यास गरेर प्रतिस्पर्धामा भाग लिन बाध्य भए। स्वर्ण जितेका खेलाडीले समेत नयाँ म्याटमा अभ्यास गर्न नपाएकाले खेल्न असजिलो भएको बताएका थिए।
अर्कोतर्फ खेलाडीका लागि चाहिने ट्र्याकसुट पनि समयैमा नआउदा खेलाडीहरु पुरानै ट्र्याकमा देखिएका थिए।
सुटिङ खेलमा ठूलो व्यवस्थापकीय कमजोरी देखियो। नेपाली खेलाडीले प्रतिद्वन्द्वी खेलाडीसँग हतियार मागेर प्रतिस्पर्धा गरेका थिए। भएका बन्दुक नपड्किदा नेपाली खेलाडीले प्रतिस्पर्धी अघि लज्जाबोध गर्नु परेको थियो। केहि खेलाडी प्रतिस्पर्धीले सुन्छन् भनेर रुमालले मुख छोपेर रोएका थिए।
हिटिङ सिस्टमको पौडी पोखरी साग सुरु भएपछि पनि पूर्ण भएको थिएन। प्रतिस्पर्धाको अघिल्लो दिन मात्र पोखरी तयार हुँदा नेपाली खेलाडीले स्वदेशमा हिटिङ सिस्टिमा अभ्यास गर्न पाएनन्।
८ खेल सञ्चालन भएको पोखराको हालत त झन् खराब थियो। मैदानको स्तरबारे विपक्षी खेलाडीले प्रश्न उठाए। श्रीलंकाकी फुटबल टिमका सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले पोखरा रंगशालाको मैदान सोचे भन्दा पनि नराम्रो भएको प्रतिक्रिया दिएकी थिइन्।
रंगशालामा एथलेटिक सिन्थटिक ट्रयाक निर्माणाधीन अवस्थामै छ। ट्रयाकलाई पर्दाले छोपिएको थियो। तर ढुङ्गा र माटो खनेर छोडिएको भाग छोपिएको पर्दा खोल्दा देखिन्थ्यो।