प्रदेश नं.५ को रुपन्देहीमा भएको प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुला प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा दाङलाई एक स्वर्ण पदकसहित चार पदक जितेको छ।
वैशाख २३ गतेदेखि २५ गतेसम्म रुपन्देहीमा भएको प्रतियोगितामा दाङकी सरिता नेपालीले आइटिएफ तेक्वान्दोमा गोल्ड मेडल जितेकी हुन्।
४०–४५ केजी तौल समूहमा पाल्पाकी खेलाडीलाई पराजित गर्दै स्वर्ण उनले पदक जितेकी हुन्। स्वर्ण पदक जितेकी नेपालीले प्रमाणपत्र, मेडल र नगद पुरस्कार हात पारेकी छन्।
त्यस्तै, प्रतियोगितामा ४५–५० तौल समूहमा महिलातर्फ अस्मि पुन तृतीय भइन् भने ४५–५० तौल समूह अन्तर्गत डिल्लीराज बस्नेत र ५०–५५ तौल समूह अन्तर्गत दाङकै खेलाडी पवन वलीले पनि तृतीय स्थान हासिल गरेको प्रशिक्षक भीमबहादुर थापाले जानकारी दिए।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा प्रदेश नं. ५ का १२ जिल्लाका ४८ खेलाडीहरूको सहभागिता थियो।
प्रतियोगितामा प्रत्येक जिल्लाबाट २ जना पुरुष र २ जना महिला गरी चार जना खेलाडीहरूको सहभागिता थियो।
प्रतियोगिताका ६ वटा खेलमा ३ स्वर्ण, ८ कास्यसहित दाङले दोस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिताको २३ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए।