१७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण सुरू भएको छ।
शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १७० किलोमिटर दौड सुरू भएको हो। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ।
मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता पनि समावेश छन्। सबै दौडहरू दहचोकस्थित कालु पाँडे डाँडामै पुगेर सकिने छन्।
प्रतियोगिताका चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी छन्। जसमध्ये ६९ जना पुरूष र १९ जना महिला छन्।
ट्रेलमाण्डुको सहकार्यमा गैरनाफामूलक संस्था 'मञ्जुश्री ट्रेल रेस' ले कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुबास थापाले जानकारी दिए।
कार्यक्रमको व्यवस्थापनमा आयोजक समितिका पदाधिकारीसहित ५० जना स्वयंसेवक खटिएका छन्।
'ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो, यसको अझै प्रचार र व्यवस्थापन हुन सके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ,' अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मीले भने।
'नेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको कल्चर विस्तारै विकास हुँदै गइरहेको छ,' रेस व्यवस्थापक महेश दाहाल भन्छन्, 'यस किसिमको प्रतियोगिताले नेपालमा रेस कल्चरको विकास गर्न र नेपाली धावकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित ट्रेल रेसमा प्रतिस्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ।'
विभिन्न देशबाट यो कार्यक्रमकै लागि भनेर सहभागी आउनुले नेपालको ट्रेल रेस अन्तर्राष्ट्रिय जगतमा परिचित हुँदै गएको र राम्रो सम्भावना भएको पुष्टि गर्ने दाहाल बताउँछन्।
नेपाल पर्यटन बोर्डका पब्लिक रिलेसन तथा पब्लिसिटी अफिसर सीताराम दाहाल नेपालमा फरकफरक खालका अनगिन्ती पर्यटकीय गन्तव्य भएको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका ट्रेल रेसको प्रवर्द्धन गर्न सके थप पर्यटकहरू आकर्षित गर्न सकिने धारणा राख्छन्।
आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरूष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डमा आयोजना हुने 'अल्ट्रा टुर मोन्टा रेस (युटिएमआर)' मा सहभागी हुने अवसर पाउने छन्। सो अवसरमा उनीहरूको आर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको सम्योजन मञ्जुश्री ट्रेल रेसले गर्ने बताइएको छ।
स्वीट्जरल्याण्डमा आयोजना हुने युटिएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन्।
विजेताले नगद र प्रमाणपत्रसहित 'एड्भेन्चर गियर' पुरस्कार स्वरूप प्राप्त गर्ने आयोजकले बताएको छ।
रेसको गत वर्षको संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए।
विश्वमै चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले।जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्सांकन गरेका थिए। विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्ण रूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो।
फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ।
आइटिआरएको मापदण्ड अनुसारको 'मञ्जुश्री ट्रेल रेस' पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।
यस अगाडि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए। सुविधासम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रूट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ।